काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी काठमाडौं रेजर्सले रोहन कार्कीलाई मार्की प्लेयर बनाइएको छ।
पहिलो संस्करणको विजेता काठमाडौंले एनएसएलको तेस्रो संस्करणका लागि २२ वर्षीय मिडफिल्डरलाई मार्की प्लेयर बनाएको हो।
रोहन आरसी ३२ का उत्पादन हुन्। नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डलाई आदर्श मान्ने उनले आरसी ३२ लाई ‘बी’ डिभिजनमा उकालेका थिए। उनले गत संस्करण धनगढी एफसीबाट एनएसएल खेलेका थिए। धनगढी दुवै संस्करणको उपविजेता हो।
उनी पछिल्लो समय चर्च ब्वाइज युनाइटेडबाट मोफसलका प्रतियोगिता खेल्दै आएका छन्। राष्ट्रिय टोलीमा परेपनि उनले डेब्यु भने गर्न पाएका छैनन्।
काठमाडौंले यसअघि दीपेश गुरुङ, अभिषेक बराल र कुलदीप कार्कीलाई रिटेन गरिसकेको छ। २० वर्षीय सेन्ट्रल मिडफिल्डर दीपेशलाई ‘ए’ क्याटोगोरीबाट रिटेन गरेको हो। यस्तै, २४ वर्षीय गोलकिपर अभिषेकलाई र ३३ वर्षीय राइट ब्याक कुलदीपलाई ‘बी’ क्याटोगोरीबाट रिटेन गरेको हो।
तेस्रो संस्करणको एनएसएलको अक्सन फागुन १० गते शनिबार हुँदैछ।