काठमाडौं । सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटोर्याली र अटोक्रस हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी फागुन १६ र १७ मा सो कार्यक्रम हुने जानकारी गराईएको हो ।
सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुस्कर राज ओझाले थ्रील, एड्भेन्चर र प्यासनकोे संगम मोटर स्पोर्ट्सलाई सुदुरपश्चिममा यस कार्यक्रमबाट शुरुआत गरिएको बताए ।
सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले युवाहरुमा लोकप्रिय बन्दै गएको मोटर स्पोर्ट्सले सुदूरपश्चिममा पनि नयाँ तरङ्ग ल्याउने आशा व्यक्त गर्दै प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने बताए ।
धनगढीबाट शुरू गरिने अटोर्यालीमा न्यूनतम ५० वटा कार र जीप सहभागी हुनेछन् जसले समय, दूरी र गतिको सन्तुलन मिलाउँदै आयोजकले तोकेको रुटमा पर्शुराम धामसम्म टिएएसडी फर्म्याटको र्यालीमा सहभागी हुनेछन् ।
प्रत्येक गाडीमा ड्राइभर र न्याभिगेटर गरि २ जनाको टीम रहने र टिम दर्ता शुल्क पाँच हजार तोकिएको छ । जसमा विजेताले क्रमश ८१ हजार, २७ हजार र ९ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार चादनी दोधारा पुल क्षेत्रमा अटोक्रसको आयोजना गरिनेछ, जसमा अटोर्यालीका सहभागीबाट २० ड्राईभरले अवसर पाउनेछन् ।
संसारकै सुन्दर पुलको वरिपरि हुने सो इभेन्टका विजेताहरुलाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर तथा शिल्ड र सर्टिफिकेट प्रदान गरिने बताईएको छ । इभेन्टमा मेकानिकल, मेडिकल, मिडिया र तालिम प्राप्त मार्शलको व्यवस्था गरिएको अयोजकल जनाएको छ ।
जुनसुकै क्षमता र डिजाईनका नीजि कार र जीप अटोर्यालीमा समावेश हुन पाउनेछन् भने अटोक्रसमा १ हजारदेखि १६ सय सिसी सम्मका कार मात्र सहभागी हुनेछन् । नेपाल अटोमोबाइल्स एसोसिएसनको गाइडलाइन अनुसार दक्ष प्राविधिक र मार्शलहरुका सुपरिवेक्षणमा कार्यक्रम संचालन हुने संघका तालिम तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले बताए ।
सुदूरपश्चिम खेलकुद परिषदको मुख्य सहयोग रहेको सो कार्यक्रममा पर्शुराम भान नगरपालिक, स्थानीय उद्योग वाणिज्य संघहरु, अटोमोवाइल व्यवसायी संघ, संस्थाको सहयोग हुनेछ । पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुवँर, संघका तालिम तथा मार्शल कमिसनका प्रमोद श्रेष्ठ, सचिव सुमन सैजु लगायतले सम्बोधन गरेका थिए ।