काठमाडौं । आशिष भारती माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको अटोक्रस च्यालेन्ज र नेपाल अटोजिखानाको च्याम्पियन बनेका छन् ।
शनिबार धुलिखेलमा सम्पन्न प्रतियोगितामा अटोक्रस र अटोजिमखानामा आशिष च्याम्पियन बनेका हुन् । अर्का आशिष शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङ महिलातर्फको नेपाल अटोजिखानाका च्याम्पियन बने ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा शनिबार हिमालयन मोटरल्याड, धुलिखेलमा माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल भव्यताका साथ सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसको स्पोर्टस् डेभेलप्मेन्ट प्रोग्राम अन्तर्गत टोटल इनरजिज नेपालको मुख्य प्रायोजन र बागमती प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा भएको फेस्टिभलमा मोटर स्पोर्ट्सका चार वटा विधामा प्रतियोगिता आयोजना गरिएको थियो । साथै एटिभी डेमो र भिन्टेज कार प्रर्दशनी लगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
अटोक्रस च्यालेन्जमा रविन सुनुवार र सुन्दर होना, कार्ट्समाण्डु कपमा प्रविन कार्की र जय प्रताप मास्के, जिमखाना पुरुषमा रविन सुनुवार र दिगविजय अधिकारी तथा जिमखाना महिलामा वर्षा बस्नेत र प्रज्ञा कडेलले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे ।
विजेताहरुले क्रमश २७ हजार, ९ हजार र ३ हजार रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल प्राप्त गरेका थिए ।
प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले फ्ल्याग अफ गरी सुरु गरिएको फेस्टिभलमा ५० भन्दा बढी खेलाडी सहभागी थिए ।
सदस्य सचिव लामाले नेपाली युवाहरुमा लोकप्रिय स्किल, स्पिड र इन्जीनको संयोजन मोटरस्पोर्टस्मा बागमती खेलकुद परिषद् प्रत्यक्ष संलग्न रहने बताउँदै खेलाडीलाई हौसला बढाएका थिए ।
नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, टोटल इनर्जिज नेपालका सेल्स डेड सुवोध थापा लगायतले सम्पूर्ण विजेता र खेलाडीलाई पुरस्कृत गरेका थिए ।