काठमाडौं । नवौं संस्करणको झिल्टुङ्ग क्रशकन्ट्री दौड प्रतियोगिता माघको पहिलो साता आयोजना हुने भएको छ ।
प्रतियोगिताको संयोजन तथा प्राविधिक सहयोग गरिरहेको एथलेटिक्स परिवार नेपालले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति घोषणा गरेको हो ।
प्रतियोगिता माघको ५ गते आयोजना गर्ने निर्णय भएको आयोजक संस्थाका अध्यक्ष राजन खत्रीले बताए । नुवाकोटको कोल्पुटार, बेलकोटगढीमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुषका समान ७ खेल विधालाई समावेश गरिएको छ ।
अध्यक्ष खत्रीका अनुसार पुरुष र महिलाको खुल्ला साढे १३ किलो मिटर दौड, सोही दुरीको खुल्ला स्थानीय दौड, १६ वर्ष मुनिको खुल्ला र स्थानीय १६ वर्ष मुनिको साढे ४ किलोमिटर दौड, ४५ वर्ष माथिको भेट्रान साढे १३ किलो मिटर, स्थानीय आमाहरुको साढे ४ किलोमिटर दौड र स्थानीय बृद्ध पुरुष महिलाको वाक एण्ड टक स्पर्धा समावेश गरिएको छ ।
साढे १३ किलोमिटरको खुल्ला महिला पुरुषको विजेताले क्रमश २० हजार, १३ हजार ३ सय र ६ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछन् भने सोही दुरीको खुल्ला स्थानीय पुरुषको बिजेताले क्रमशले १३ हजार ३ सय, ९ हजार ३ सय र ६ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
साढे ४ किलोमिटरको खुल्ला, स्थानीय १६ वर्ष र स्थानीय ४५ वर्ष माथिको पुरुष स्पर्धाको विजेताले क्रमश ८ हजार, ५ हजार ३ सय र २ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछन् । भेटान खुल्लाका विजेताले १० हजार ६ सय, ८ हजार र ५ हजार ३ सय रुपैयाँ तथा आमा समुहको विजेताले क्रमश १६ हजार, १० हजार ६ सय र ८ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
ईच्छुक खेलाडीले नामावली दर्ताको अन्तिम मिति माघ ३ गतेसम्म रहने आयोजकले जनाएको छ ।
बेलकोटगढी नगरपालिका र एथलेटिक्स परिवार नेपालले संयुक्त रुपमा विगत ९ वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । नेपालको एथलेटिक्स क्षेत्रमा झिल्टुङ्ग दौडलाई आफुलाई मौलिक खेल प्रतियोगिताको रुपमा स्थापित गरेको छ ।