काठमाडौं । आगामी शनिबार धुलिखेलमा हुने माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको मुख्य प्रायोजकमा टोटल इनर्जीज जोडिएको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले फेस्टिभलको मुख्य प्रायोजकको रुपमा टोटल इनर्जीजको नेपालको आधिकारीक बिक्रेता लक्ष्मी ल्यूब आयलसँग प्रायोजन सम्झौता गरेको हो ।
लक्ष्मी ल्यूबको तर्फबाट सेल्स हेड सुबोध थापा र नासा नेपालको तर्फबाट मिडिया एण्ड ब्राण्डिङ कमिसनका अंकित भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
लक्ष्मी ल्यूबका सुबोध थापाले विश्व प्रसिद्ध टोटल लुब्रिकेन्ट्सले नेपालमा पनि आफ्नो गुणस्तरीय सेवा र उत्पादन प्रदान गर्दै आएको उल्लेख गर्दै नेपालको मोटर स्पोर्ट्ससँग जोडिन पाउदाँ खुसी ब्यक्त गरे ।
नासा नेपालका अंकित भण्डारीले टोटल इानर्जीज जस्तो विश्वस्तरीय ब्राण्डको साझेदारीले नेपालको मोटर स्पोट्र्ससँगै कर्पोरेट क्षेत्रलाई अझ विश्वव्यापी र अन्तर्राष्ट्रिय स्तरको बनाउने विश्वास व्यक्त गरे ।
टोटल इनर्जीज सहित अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम) तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहने कार्यक्रममा ६० जना ड्राइभर तथा ४० जना प्राविधिकको सहभागिता रहने छ ।
धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा आयोजना हुने फेस्टिभल अन्तर्गत अटोक्रस च्यालेन्ज, नेपाल अटो जिमखाना, कार्ट्समाण्डु कप, क्वाड बाइक एड्भेन्चर्स र स्टन्ट शो गरी ५ वटा इभेन्ट हुनेछन् ।
फेस्टिभलको सन्दर्भमा हुने मार्सल तालिम र इभेन्ट म्यानेजमेन्ट वर्कशप आयोजनामा पनि टोटल इनर्जीजले सहयोग गर्ने नासा नेपालले जनाएको छ ।