काठमाडौं । हिमालयन शेर्पा क्लबले प्याब्सन बुढानिलकण्ठसँग मिलेर ग्रासरुट फुटबल सञ्चालन गर्ने भएको छ । ए डिभिजन क्लब शेर्पाले प्याब्सन बुढानिलकण्ठसँग मिलेर ग्रासरुट कार्यक्रम सञ्चालन गर्न बिहीबार सम्झौता गरेको छ ।
क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राघेश्याम श्रेष्ठले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
स्थानीय स्तरमा फुटबलको प्रबद्र्धन र नयाँ प्रतिभाको पहिचान लागि प्याब्सनसँग मिलेर कार्यक्रम सञ्चालनको औपचारिक घोषणा गरिएको क्लबले जनाएको छ । सम्झौता अनुसार बुढानिलकण्ठ नगरपालिकाभित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने क्लबको भनाई छ ।
बालबालिकामा फुटबल खेलप्रति रुचि र सहभागीता बढाउने, विद्यालयस्तरमा फुटबल प्रशिक्षण कार्यक्रममार्फत युवा प्रतिभाको पहिचान र विकास गर्ने तथा आवश्यक खेल सामाग्री र प्राविधिक सहयोग प्रदान गर्दै फुटबल संरचना सुदृढ बनाउने उद्धेश्य सम्झौतामा रहेको छ ।
प्याब्सन बुढानिकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले भने, 'यो कार्यक्रम बालबालिकाको समग्र व्यक्तित्व विकास र समुदायमा स्वास्थ्य जीवनशैली प्रबद्र्धन गर्न महत्वपुर्ण हुनेछ ।'
एन्फाका पूर्व अध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, 'यो साझेदारीमार्फत नयाँ प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं ।'