नेपालगन्ज । लुम्बिनी कप महिला फुटवल प्रतियोगिताको सचिवालय उद्घाटन गरिएको छ ।
बिहिबार नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज रंगशालामा रहेको सचिवालयको उद्घाटन गरेका हुन् ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ गतेदेखि २९ गते सम्म नेपालगन्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
नगर प्रमुख विष्टले नेपालगन्जले लुम्बिनी कप महिला फुटबलले नेपालगन्जलाई फेरी राष्ट्रिय स्तरमा चिनिने अवसर प्रदान गर्ने बताए ।
उनले भने, ‘नेपालगन्जले देशभरमा खेलकुद क्षेत्रमा आफनो पहिचान बनाएको छ । नेपालगन्ज खेलकुदको हव हो । तर पछिल्लो समय खेलकुदको स्तर घटेको अनुभव भएको छ । यो प्रतियोगिताले नेपालगन्जलाई चिनाउने अवसर पनि हो । हामीसँग भएको स्रोत साधनको प्रयोग गरेर उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नु पर्छ । खेलाडीमाथि राज्यले लगानी गर्नु पर्छ । खेलाडीको सम्मान गर्ने वातावरण बन्नु पर्छ ।’
नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कप महिला फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।
उद्घाटन समारोहमा बाँके जिल्ला फुटवल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले लुम्बिनी कप फुटबलले यस क्षेत्रको महिला फुटबलको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
उनले भने,‘कोभिड पछि नेपालगन्जले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सकेको थिएन । तर यो प्रतियोगिताबाट नेपालगन्जमा फुटबल गतिविधि बढेको छ । प्रतियोगितालाई सफल बनाउन संघको सम्पुर्ण टिम खटिनेछ ।’
प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटवल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले पश्चिम नेपालमा महिला महत्वपुर्ण प्रतियोगिताको सुरुआत गर्न लागेको बताए । उनले भने,‘यो प्रतियोगिता यस क्षेत्रलाई चिनाउने प्रतियोगिता हो । लुम्बिनी कप महिला फुटबल सफल बनाउन म सम्पुर्णलाई हार्दिक अपिल गर्दछु ।’
सचिवालय उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका निर्वतमान सदस्य सचिव भीम ओली, नेपालगन्ज उप–महानगरपालिका निवर्तमान उपमेयर उमा थापा, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द लगायतले प्रतियोगिताको सफलतको शुभकामना व्यक्त गरेका थिए ।