काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीको बिहीबार बसेको बोर्ड बैठकको विषयलाई लिएर जीवनराम श्रेष्ठ र सुनिलकुमार श्रेष्ठबीच चर्काचर्की परेको छ । निर्वाचनको प्रकृया चलिरहेको समय अवैधानिक बैठक राखेर महत्वपुर्ण निर्णय गर्न खोजिएको भन्दै नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठले नेतृत्वको विरोध गरेका हुन् ।
अदालतको मुद्धाबाट जोगिन निर्वाचनको बिचमा बोर्ड बैठक राखेर नेपाल रग्वी संघ सहित चार वटा संघलाई सदस्यता दिने निर्णय जीवनराम श्रेष्ठले बिहीबार बिहान गरेका छन् । तर बैठक बस्ने र निर्णय गर्ने वैधानिक अधिकार बोर्ड बैठकलाई नरहेको भन्दै सुनिलले जीवनरामको कार्यशैलीको विरोध गरेका हुन् ।
‘निर्वाचन घोषणा गरेपछि पुरानो कमिटि तदर्थ हुन्छ । निर्वाचन सम्बन्धि कामकाजी बाहेक अन्य विषयमा निर्णय गर्न मिल्दैन । यस्तो महत्वपुर्ण विषय कसको स्वार्थमा निर्णय गराउन लाग्नुभएको हो ?’ बैठकमा सुनिलले प्रश्न गरेका थिए ।
विधान संशोधन गर्ने ओलम्पिकको निर्णयविरुद्ध सुनिलकुमार श्रेष्ठ सहितको समूहले विरोध गर्दै आएको थियो । अदालत, सरकार र अन्तराष्ट्रिय ओलम्पिक कमिटिलाई बेवास्ता गर्दै जीवनरामले विधान संशोधन गरेर एकलौटी रुपमा पुस १३ गते निर्वाचनको घोषणा गरेका छन् । नेपाल रग्वी संघ सहित चार संघले अदालतमा दायर गरेको मुद्धाले निर्वाचनकै रोकिने र अवहेलनाको मुद्धा लाग्ने जोखिम बढेपछि उनले बुधबार साँझ सदस्यता दिने सहमती गरेका थिए ।
अध्यक्ष बाहेक अन्य पदाधिकारी निर्विरोध निर्वाचित भैसकेको ओलम्पिकको निर्वाचनको प्रकृयाका बीच बिहीबार बिहान बोर्ड बैठक बोलाएका जीवनरामले खेलकुदको विकासका लागि चार संघलाई सदस्यता दिनुपर्ने बताएका थिए । उनीहरुले सदस्यता सम्बन्धि निर्णयमा सहमती जनाउन सबैलाई अनुरोध गरेका थिए ।
बैठकमा उपाध्यक्ष रहिसकेका सुनिलले चुनावी प्रकृया चलिरहेको समय ओलम्पिकको बोर्ड बैठकले कुनै निर्णय गर्न नसक्ने बताएका थिए । उनले ओलम्पिकको गलत कदमविरुद्ध आफुले सबै विरोध गर्दै आएको उल्लेख गर्दै बैठकनै अवैधानिक भएकाले निर्णय गर्ने अधिकार नरहने धारणा राखेका थिए ।
अध्यक्ष पदको उम्मेदवार बनेका निलेन्द्रराज श्रेष्ठले चुनावको बिचमा जबर्जस्ती निर्णय गराउने काम गलत भएको बताए । उनले छलफलको समय समेत नदिएर अर्का उम्मेदवारले एकलौटी रुपमा निर्णय गराउन नहुने भन्दै विरोध गरेका थिए । अदालतको मुद्धा फिर्ता लिने शर्तमा सदस्यता सम्बन्धि निर्णय गराउने सहमती गरेका जीवनरामले पर्सी शनिबारको निर्वाचन प्रभावित गर्न चारवटा संघलाई सदस्यता दिने नयाँ ‘फन्डा’ बाहिर ल्याएका छन् ।
र यो पनि,
ओलम्पिकमा निर्वाचनमा तमासा, मुद्धा मिलाउन चार संघलाई सदस्यता
सम्पादकीय – जीवनरामसँग खेलकुदले खोजेको ‘आजादी’
श्रेष्ठले ओलम्पिकको चुनाव बहिष्कार गर्ने
गृह प्रशासनले रोक्यो ओलम्पिकको चुनाव