नेपालगन्ज । बाँके जिल्ला फुटबल संघले रिक्त पदाधिकारी पदमा मनोनयन गरिएको छ ।
बाँकेको नेपालगन्जमा बसेको बाँके जिल्ला फुटबल संघको कार्यसमिति बैठकले कोषाध्यक्षमा सानु तामाङ, सह–महासचिवमा दिर्घराज आचार्य(कौशल) र सरिता थापा(शाह)लाई मनोनित गरेको छ ।
यसैगरी संघको सदस्यमा कर्ण बस्नेतलाई मनोनित गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । संघको विधानमा रहेको व्यवस्था अनुसार मनोनित गरिएको अध्यक्ष शाहीले बताएका हुन् ।
उनले भने, ‘संघको कार्यसमितिलाई चलायमान गराउन मनोनित गरिएको हो । फुटबल क्षेत्रमा योगदान गरिरहनु भएको व्यक्तिलाई समेटदैं कार्यसमितिमा मनोनित गरिएको हो । मनोनित हुनु भएका सबैले बाँके जिल्लाको फुटबल विकासमा थप क्रियाशिल भएर काम गर्नु हुनेछ भन्ने विश्वास छ ।’
कोषाध्यक्षमा मनोनित भएकी तामाङ राष्ट्रिय खेलकुद परिषद्को पुर्व प्रशिक्षक हुन् । चार दशक देखि फुटबल खेलाडी उत्पादनमा योगदान गरिरहेका तामाङ मिलन युवा क्लबको अध्यक्ष हुन् । सह–महासचिवमा मनोनित आचार्य रोयल नेपालगन्ज फुटबल क्लबका महासचिव हुन् भने थापा कारकाँदो युवा स्पोर्ट्स क्लबका महासचिव हुन् ।
यसैगरी कार्यसमिति सदस्यमा मनोनित बस्नेत कोहलपुर रेसिङ सहारा क्लबको सल्लाहाकार तथा कोहलपुर गोल्ड कपको संयोजक हुन् ।