काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था नासा नेपालले फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईकल (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । स्पेनको तटिय पर्यटकीय शहर पालमा मायोरकामा सम्पन्न महासंघको १ सय २० औं स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन ईन मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको छ ।
स्न २०२४ का सम्पुर्ण अन्तराष्ट्रिय ईभेन्टका विजयीलाई एफआईएमले साधारण सभाको सन्दर्भमा अवार्ड वितरण गर्ने गर्दछ । जहाँ वुमन ईन मोटरिङ ईन नेपालका लागि एफआईएम वुमन अवार्ड सहित मोबिलिटी र पब्लिक पोलिसी, फ्युचर ईन मोटरसाईक्लिङ, वातावरण र दिगोपन जस्ता चार वटा अवार्ड समेत वितरण गरिएको छ ।
विश्वको एकमात्र मोटरसाईकल फेडेरेसनको सो अवार्ड कार्यक्रममा एक सय बढी देश र एक हजार भन्दा बढीको सहभागीता रहेको थियो । नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईलाई एफआईएम वुमन ईन मोटोसाईक्लिङकी प्रमुख लातभियाकी यनिका यूले अवार्ड प्रदान गरेकी हुन् ।
नेपाली खेलकुदको केन्द्रीय संघमा पहिलो एक तिहाई महिला नेतृत्वको वैधानिक व्यवस्था गरेको, मोटरसाईकलमार्फत महिला शसक्तिकरणको अभियान चलाएको, रेसिङ्ग, र्याली र रोड सेफ्टिमा महिला सहभागिता र नेतृत्त सुनिश्चित गरेको, संघका विभिन्न कमिसनमा महिला नेतृत्व रहेको तथा महिला कमिसन र छुट्टै नियमित सहयोग कार्यक्रम गरेको आधारमा अवार्ड प्रदान गरिएको नासा नेपालका कार्यकारी निर्देशक भट्टराईले जनाएका छन् ।
अधिकांश खेलकुद महासंघका एजेण्डामा पश्चिमा देशहरुको नेतृत्व रहिरहेको समय टू ह्विल टुरिङ र वुमन ईन मोटरिङ र रोड सेफ्टी जस्ता विषयमा नेपाली खेल संघ नासा नेपालको भुमिका प्रशंसनीय मानिएको छ ।
विगत १६ वर्षअघि स्थापित नासा नेपाल अन्तराष्ट्रिय अटोमोबाईल फेडेरेसन (एफआईएम), युनियन ईन्टरनेसनल मोटोरबोटिङ (यूआईएम) र ईन्टरनेसनल मोटरसाईकल फेडेरेसन (एफआईएम) जस्ता महासंघहरुमा आबद्ध छ । अवार्ड ग्रहण गर्दै कार्यकारी निर्देशक भट्टराईले यस अवार्ड सम्पुर्ण नेपाली खेलकुद, अटोमोबाईल, राईडर, ड्राईभर, अफिसियल र मार्सलहरुको र खासमा महिलाहरुको लागि ऐतिहासिक क्षण रहेको बताए ।