काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) गेम्स डोपिङ मुक्त हुने बताएका छन् । श्रीलंकामा भएको प्रतिबन्धित शक्तिवर्धक औषधि सेवन (डोपिङ) बारेको मन्त्रिस्तरीय बैठकमा बोल्दै मन्त्री विश्वकर्माले नेपालमा हुने साग गेम्स डोपिङ मुक्त हुने बताएका हुन् ।
श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना भएको 'खेलकुदमा प्रयोग हुने शक्तिवर्धक औषधि सेवन विरुद्धको १५ औं एशिया ओसियाना क्षेत्रीय अन्तर सरकारी मन्त्रीस्तरीय बैठकमा बोल्दै मन्त्री विश्वकर्माले साग गेम्स डोपिङ मुक्त हुने बताएका हुन् । नेपालमा तय भएको १३ औं साग गेम्स अर्को बर्ष हुँदैछ ।
शक्तिवर्धक औषधि सेवन विरुद्धको महासन्धिको पक्ष राष्ट्र भएका हिसावले नेपालले यस क्षेत्रमा प्रथामिकताका साथ काम गरिरहेको जानकारी बैठकमा गराउँदै मन्त्री विश्वकर्माले नेपाल एन्टि डोपिंग एजेन्सी (नाडा) स्थापना गर्ने तयारी गरेको समेत जानकारी गराए । यस्तै मन्त्री विश्वकर्माले नेपालमा नीतिगत समस्या, डोपिंग परीक्षणका लागि आवश्यक प्रयोगशालाको अभाव, दक्ष जनशक्तिको अभाव जस्ता चुनौतिको सामना गरिरहेको बताए ।
बैठकमा एशिया ओसियाना क्षेत्रका २९ देशका मन्त्री, सचिव, र डोपिंग विज्ञहरुको सहभागिता रहेको थियो । गत वर्ष चीनमा भएको १४ औ बैठक यता विभिन्न देशहरुले एन्टी डोपिंग अभियान मार्फत स्वच्छ र निष्पक्ष खेलका लागि गरेका गतिविधिहरुको बैठकले समीक्षा गरेको थियो ।