काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)का उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले चुनाव अघि गरिएको विधान संशोधन ब्यक्तिगत स्वार्थ केन्द्रित रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष श्रेष्ठले एउटै ब्यक्ति अनिश्चित समयका लागि नेतृत्वमा रहने विषय समग्र खेलकुद र ओलम्पिक अभियानका लागि सुखद रहने नसक्ने उल्लेख गरेका छन् ।
‘चुनावको मुखमा गरिने विधान संशोधन जस्तो गलत क्रियाकलापले खेलकुदको नेतृत्व हस्तान्तरण प्रकृयालाई अवरुद्ध गर्ने र खेलकुदलाई गतिशिल बनाउने अभियानमा गम्भिर धक्का पुग्छ ।’ श्रेष्ठले भनेका छन् ।
श्रेष्ठले अध्यक्ष र महासचिवको दुई कार्यकालको व्यवस्था हटाउने एनओसीको पछिल्लो बोर्ड बैठकमा नोट अफ डिसेन्ट समेत लेखेका थिए । उनले विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि कसरत गरिरहेका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठलाई रोक्न राष्ट्रिय तथा अन्तराष्ट्रिय लबिङ गर्दै आएका छन् । अध्यक्ष श्रेष्ठको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै महासचिव निलेन्द्र राज श्रेष्ठ समेत विधान संशोधनको विरुद्धमा उठेका छन् । उनले आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा समेत गरेका छन् ।
उपाध्यक्ष श्रेष्ठले व्यक्ति केन्द्रित विधान संशोधनको विपक्षमा उभिन र खेलकुदलाई दुर्घटनाबाट बचाउन सम्पुर्णमा अपिल समेत गरेका छन् । श्रेष्ठ नेपाल फेन्सिङ संघका अध्यक्ष समेत हुन् ।
एनओसीको विधान संशोधनको छिनोफानो आगामी मंगलबारको विशेष साधारण सभाले गर्दैछ । साधारण सभाको एक तिहाई अर्थात १० भन्दा बढी मत जुटाएर जीवनरामलाई ओलम्पिकबाट बिदा गर्ने असन्तुष्ट पक्षको तयारी छ ।