काठमाडौं । काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुको संस्था एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्टले आयोजना गरेको ‘अल नेपाल गो–कार्ट्स कम्पिटिसन कलेज-टू-कार्ट्स’ को विजेता धरानको आईओई, ईआरसी टिम बनेको छ ।
सम्पूर्ण इन्जिनियरिङ कलेजका विद्यार्थीबीच भएको मोटरस्पोर्ट्स इन द बक्समा थापाथली क्याम्पसका किरण कार्की विजेता बने भने काठमाडौं विश्वविद्यालयका सुयांश ढुंगाना उपविजेता बने । त्यस्तै बेस्ट इनोभेसन अवार्ड काठमाडौं विश्वविद्यालयको टिम पाइलाले पाएको छ ।
सरकारी ड्राइभिङ तथा राइडिङ लाइसेन्स प्राप्त सहभागी नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा प्रतिस्पर्धा गरेका थिए, जुन कार्ट्सको फरक प्रतियोगिता हो । यो अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) को ग्रासरुट मोटर स्पोर्ट्सको नयाँ अभियान हो ।
काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुको इनोभेटिभ अभियान अभियान्ता २४ नामक वार्षिक फ्ल्यागसिप कार्यक्रमको सन्दर्भमा आयोजना सम्पन्न भएको हो ।
इभेन्टलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को ‘कलेज टु कार्ट्स’ इभेन्टसँग सम्बन्धन गरिएको छ । विजेतालाई नासा नेपालका सचिव निरज खड्का, सहकोषाध्यक्ष कमला क्षेत्री तथा नासा नेपाल र काठमाडांै विश्वविद्यालयका पदाधिकारीहरु लगायतले पुरस्कार वितरण गरे ।
इभेन्टमा नेपालभरिका विभिन्न पाँचवटा इन्जिनियरिङ कलेजका ६ वटा टिम र उनीहरुले तयार गरेका कार्ट्सबीच प्रतिस्पर्धा भएको थियो । प्रत्येक टिमबाट सात जना गरी जम्मा ४२ विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यसैगरी मोटरस्पोर्ट्स इन द बक्समा एक महिला सहित १२ सहभागी थिए ।
विजयी उत्कृष्ट खेलाडीले आगामी वर्ष श्रीलंकामा हुने एसिया प्यासिफिक मोटोस्पोर्ट्स च्याम्पियनसिपमा नासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउने छन् ।