काठमाडौं । करिब १४ महिना पछि राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक यसै साता बस्दैछ । वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने राखेपको बोर्ड बैठक मन्त्रालयको कमजोर नेतृत्वका कारण लामो समयपछि पहिलो पटक बस्न लागेको हो ।
आफु अनुकुलको बोर्ड नहुदाँ वर्तमान खेलकुद मन्त्री तेजुलाल चौधरीले बैठक राख्न अनिच्छा ब्यक्त गर्दै आएका थिए । बोर्ड सदस्यहरुको चर्को दबाब र प्रदेश खेलकुदका सदस्य सचिवको लिखित पत्रपछि खेलकुद मन्त्री बोर्ड बैठक राख्ने निर्णयमा पुगेका हुन् । प्रदेश खेलकुदका सदस्य सचिवहरु राखेपको बोर्ड बैठकका पदेन सदस्य समेत हुन् ।
सरकारले मंसिरमा आयोजना गर्ने भनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुद मन्त्रीको असक्षमताले समयमै नहुने पक्का भएको छ । समयमै राष्ट्रिय खेलकुद नहुने भएपछि कहिले गर्ने भन्ने निर्णय खेलकुद मन्त्रालयले लिएको छैन ।
यही सेरोफेरोमा मन्त्रीले अन्तत राखेपको बोर्ड बैठक बोलाएका छन् ।
बैठकमा दशौं राष्ट्रिय खेलकुदको विषय छलफलको केन्द्रमा हुनेछ । यही मंसिरमा दशौं राष्ट्रिय खेलकुद गर्ने उद्धेश्य सहित रातदिन प्रदेशमा खटिएका कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव समयमै प्रतियोगिता नहुने भएपछि खिन्न छन् । रातदिन पूर्वाधार निर्माणमा जुटेका सदस्य सचिव सन्जेल प्रतियोगिता आयोजनामा प्रदेश सरकारले देखाएको उदासिनता र केन्द्रमा खेलकुद मन्त्रालयको असक्षमताले निराश छन् ।
दुख गरेर आफ्नो कार्यकालमा भब्य पूर्वाधार निर्माणको नेतृत्व लिएका सदस्य सचिव सन्जेलले आफ्नै कार्यकालमा दशौं आयोजना गर्ने अवसरबाट भने लगभग बञ्चित हुनुपर्ने स्थिती छ ।
राखेपको बोर्ड बैठक बस्ने निर्णयसँगै कर्णाली प्रदेशका सदस्य सचिव सन्जेलले राखेपलाई यस्तो सुझाव दिएका छन् ।
- दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन सम्बन्धि निर्देशिका र प्रतियोगिता संचालन हुने मितिका सम्बन्धमा आयोजना हुने प्रदेश सरकारसँग संघ सरकार युवा तथा खेलकुद र राष्ट्रिय खेलकुद परिषदले छलफल तथा अन्तरक्रिया गरेर प्रदेश सरकारको राय सल्लाह लिएर खेल संख्या, खेल स्थल र प्रदेशलाई दिने बजेटको बारेमा टुंगो लगाई सह आयोजक हुने प्रदेश र राखेपबीच राष्ट्रिय प्रतियोगिता संचालन सम्बन्धि कामको कार्य बिभाजनको समेत निर्देशिकामा उल्लेख गरि कानुनी रुप दिनु पर्छ । जसले गर्दा अब तोकिने मितिमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पक्कै आयोजना हुनेमा विश्वस्त हुन सकिन्छ ।
- मिति तोक्ने काम दुई वर्ष अगाडि गण्डकी प्रदेशको पोखरामा राखेपको ११५ औं बैठकले पनि निर्णय त गरेको थियो तर मुख्य कुरा दुई दुई बर्ष सम्म प्रतियोगिता संचालन सम्बन्धि निर्देशिका तयारी नहुँदा २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णाली प्रदेशमा आयोजना हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेन र खेलकुदमा अन्यौलको वातावरण सिर्जना हुन गएको छ । त्यसैले विगतबाट पाठ सिक्दै राखेपले आह्वान गरेको ११८ औं परिषदको बैठक बस्नु अगाडि यस विषयमा संघ र प्रदेशबीच छलफल हुन आवश्यक छ ।
- दशौं राष्ट्रिय खेलकुदका बारेमा राखेपले बैठक बोलाईएको पत्र र प्राप्त एजेन्डाका सम्बन्धमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री एवं प्रदेश खेलकुद विकास परिषदका अध्यक्षलाई जानकारी गराएको छु । प्रदेश सरकारबाट प्राप्त एजेन्डाको सम्बन्धमा जे निर्देशन प्राप्त हुन्छ सोही अनुसार बैठकमा कुरा राख्ने छु ।