काठमाडौं । निलेन्द्रराज श्रेष्ठले नेपाल ओलम्पिक कमिटि एनओसीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
खेलपाटीसँग कुरा गर्दै श्रेष्ठले एनओसीको आसन्न निर्वाचनमा अध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
'उमेर र अनुभवको आधारमा नेतृत्वको रुपमा आफु सक्षम रहेको पाए । अन्य उम्मेदवारले आँट नगरेको अवस्थामा एनओसीको आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।' श्रेष्ठले भने ।
श्रेष्ठ अध्यक्ष पदमा लड्ने विषयमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठलाई समेत जानकारी गराईसकेको बताएका छन् ।
श्रेष्ठ अहिले एनओसीमा महासचिव पदमा रहेका छन् ।
वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न खोजेपछि एनओसीभित्र विवाद सुरु भएको छ । एनओसीको पछिल्लो बोर्ड बैठकले विधान संशोधन गरेर अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीमा संशोधनका लागि पठाएको छ ।
चार वर्ष र थप एक वर्ष कार्यकाल पुरा गरेको वर्तमान कार्यसमितिलाई करिब एक महिनाभित्र एनओसीको चुनाव गर्नुपर्ने देखिन्छ ।