काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फामा भएको भ्रष्टाचार र आर्थिक अनियमितताको छानबिन गर्न समिति गठन गरेको छ ।
खेलकुद मन्त्री जगतबहादुर सुनारले एन्फामा भएको आर्थिक अनियमितता र भ्रष्टचारको बिषयमा छानविन गर्न सह सचिव नेतृत्वको ३ सदस्यीय समित गठन गरेका छन् ।
समितिमा मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने, उपसचिव समन्तमणी आचार्य र संघ संस्था विभाग प्रमुख डेमबहादुर बस्नेत रहेका छन् । समितिलाई १० दिन भित्र छानविन गरि प्रतिवेदन बुझाउन निर्देशन दिईएको खेलकुदमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको बिषय सार्वजनीक रुपमा उठेपछि युवा तथा खेलकुद मन्त्रालयले समिति गठन गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले समेत एन्फाको विवादको बिषयमा चासो राखेपछि मन्त्रालय समिति गठन गर्ने निर्णयमा पुगेको हो ।
केही दिन अगाडी प्रधामन्त्री केपी ओलीले खेलकुद मन्त्री सहित राखेप पदाधिकारीलाई बालुवाटार बोलाएर एन्फा विवादका बिषयमा चासो राखेका थिए । प्रधानमन्त्रीको चासो लगत्तै खेलकुद मन्त्रालयले एन्फाभित्रको विवादका बिषयमा आवश्यक अध्ययन गरिरहेको थियो ।
एन्फाका पुर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले एन्फा निर्वाचनमा ब्यापक आर्थिक अनियमितता भएको बताउँदै पत्रकार सम्मेलन गरेका थिए । एन्फाविरुद्व आन्दोलनमा उत्रिएका चार जिल्ला फुटबल संघले लगत्तै पत्रकार सम्मेलन गरेर निर्वाचनमा भएको भनिएको आर्थिक अनियमितताको अडियो टेप सार्वजनीक गरेका थिए ।
साथै चार जिल्ला फुटबल संघले एन्फा नेतृत्व र वर्तमान कार्यसमितिले ठुलो भ्रष्टाचार र आर्थिक अनियमितता गरेको जिकिर गर्दै १४ बुँदे आरोप लगाएका थिए ।
कुँवर र चार जिल्ला फुटबल संघले छानविनका लागि मन्त्रालय, राखेपमा उजुरी दिएपछि सरकार छानबिन समिति गठन गर्ने निष्कर्शमा पुगेको हो ।
राखेपले छानबिन समिति गठन गर्न मन्त्रालयसंग सहमती मागेकाे थियाे । तर मन्त्रालय आफैले समिति गठन गरेर एन्फा विवादको बिषयमा छानविन गर्ने अग्रसरता देखाएको हो ।
एन्फाले यसअघि पत्रकार सम्मेलन गर्दै आफुमाथि लागेका सबै आरोप निराधार भएको बताएको थियो । फुटबल गतिविधिलाई अवरोध पु¥याउन केही व्यक्ति फुटबल संघविरुद्व लागेको एन्फाको भनाई छ ।