काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले खेल सामाग्री कम्पनी केल्मीसंग सामान खरिदमा भएको घोटालाको छानविन गर्ने भएको छ । काठमाडौंमा बिहिबार बसेको एन्फा कार्यसमिति बैठकले केल्मीको सामान खरिदमा भएको घोटालाको छानविन गर्ने भएको हो ।
अघिल्लो कार्यसमितिको समयमा भएको सामान घोटालाको एन्फाले छानविन गर्ने निर्णय गरेको हो ।
‘केल्मीसंग ५५ लाखको सामान बुझेको देखिन्छ । तर स्टोरमा १५ लाखको मात्र सामान छ । बाँकी ४० लाखको सामान घोटाला भएको देखिन्छ ।’ एन्फाका एक पदाधिकारीले खेलपाटीसंग भने ।
यस्तै बैठकले पेश्की पर्छै्यौटमा भएको अनियमितताको समेत छानविन गर्ने भएको छ । बंगलादेशी फुटबल संघ र विदेशी कम्पनीको नाममा दिएको पेश्की रकममा अनियमितता भएको बताउँदै एन्फाले छानविन गर्ने निर्णय गरेको छ ।
अरु के के भए निर्णय ?
बैठकले एन्फाको मानार्थ पद खारेज गर्ने निर्णय गरेको छ । सो पदमा एन्फाले टासी घलेलाई नियुक्त गरेको थियो । त्यस्तै, महिला फुटबल टिमलाई पहिलो पटक ७ हजार मासिक तलब दिने निर्णय गरेको छ । त्यसमा साढे ३ हजार भत्ता समेत जोडिनेछ । विदेशमा खेल्न गए प्रति दिन ३५ डलर भत्ता खेलाडीले प्राप्त गर्नेछ ।
बैठकले वरिष्ठ उपाध्यक्ष पदको बिषयमा निर्णय गर्न भने सकेन । सो एजेण्डालाई अर्को बैठकमा पेश गर्ने निर्णय भएको छ । त्यस्तै, कार्यसमिति बैठकले चार जिल्ला फुटबल संघलाई कारबाहीको लागि अनुशासन कमिटिलाई जिम्मा लगाउने निर्णय गरेको छ ।
यस्तै, ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्ने महिला फुटबल टिमलाई जनही ५० हजार र एएफसी अन्डर १९ च्याम्पियनसिपको छनोटको दोस्रो चरणमा पुग्ने टिमलाई जनही २५ हजार रुपैयाँ दिने निर्णय भएको छ ।
एन्फाको निर्णय हेर्नुहोस :