काठमाडौं। नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस संघबीच नेपाली खेलाडीहरूलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्झौता भएका छन्।
महासंघका अध्यक्ष हेराकाजी महर्जन र काजकिस्तान चेस संघका कार्यकारी निर्देशक दौलेटोभा जिबीबीच बिहीबार दुईपक्षीय हस्ताक्षर गरी प्रशिक्षण दिने सम्झौता भएको हो।
विश्व बुद्धिचाल महासंघ र एसियन चेस फेडेरेसनको तत्त्वावधानमा हुने उच्चस्तरीय चेस प्रशिक्षण कार्यक्रमले खेलको प्रचारप्रसार, विकास र आपसी सहयोग स्थापना हुने आपेक्षा गरिएको छ ।
नेपाल बुद्धिचाल महासंघले चेस खेलको उन्नति र प्रगतिका लागि दुईपक्षीय सम्झौता गरेअनुसार पहिलो चरणको चेस प्रशिक्षण साउन १७ देखि पुस १६ गतेसम्म सञ्चालन हुने भएको छ। दुईपक्षीय सम्झौतामा काजकिस्तान चेस संघले अन्तर्राष्ट्रिय ग्रान्ड मास्टरलाई प्रशिक्षकको रूपका पठाउने, ब्रान्डेड टि–सर्ट प्रदान गर्ने, चेस ईन स्कुल कार्यक्रममा सहयोग गर्ने, खेल सामग्री प्रदान गर्ने, साइमलटानियस खेल प्रदर्शन गर्ने, वेवसाइटमार्फत समाचार सम्प्रेषण गर्ने र भौतिक रूपमा उपस्थित भएर गर्नसक्ने सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ।
यस्तै, नेपाल बुद्धिचाल महासंघले प्रशिक्षण दिन राम्रो स्थानको व्यवस्था गर्ने, नेपाली शीर्ष खेलाडीहरूलाई प्रशिक्षणमा सहभागी गराउने, विदेशी प्रशिक्षकको लागि बस्ने र खाने व्यवस्था गर्ने र नेपालस्थित अभिभावकीय खेलकुद निकायसँग समन्वयात्मक भूमिका खेल्ने कुरा उल्लेख गरिएको छ।
नेपाल बुद्धिचाल महासंघले सेप्टेम्बर १० देखि हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडलाई लक्षित गरेर पहिलो पटक अन्तर्राष्ट्रिय ग्रान्ड मास्टरद्वारा उच्चस्तरीय चेस प्रशिक्षण सुरु गरेको हो। बुढापेस्टमा हुने प्रतिस्पर्धाका दौरान काजकिस्तानकी ग्रान्ड मास्टर मुर्तजा टोली सँगै रहने छन्।