काठमाडौं। गरिबीमा हुर्किँदा एक छाक मासु खाना वर्ष (इद उत्र फित्र) कुर्नुपर्ने, केही अघिसम्म पनि नयाँ ज्याभलिन खरिद गर्न चन्दा उठाउनुपर्ने परिस्थितिबाट गुज्रिएका आर्शद नदिमको पेरिस ओलम्पिक २०२४ च्याम्पियन भएपछि भाग्य फेरिने भएको छ।
पाकिस्तानलाई ३२ वर्षपछि ओलम्पिक पदक दिलाएका उनलाई करोडौं पुरस्कार घोषणाको होड नै चलेको छ। अहिलेसम्म १५ करोड रुपियाँ बढी पुरस्कार घोषणा भइसकेको छ। ज्याभलिन थ्रोमा ओलम्पिक कीर्तिमानसहित बिहीबार स्वर्णपदक जितेपछि २७ वर्षीय नदिमले वर्ल्ड एथलेटिक्सबाट ५० हजार अमेरिकी डलर (नेपाली रुपियाँ ६७,१६,७५०) पाउने पक्का छ नै। उनलाई स्वदेशमै करोडौं पुरस्कार दिने घोषणा भइरहेको छ।
पन्जाबका मुख्यमन्त्री मारियम नवाजले पाकिस्तानी रुपी १० करोड (नेपाली रुपियाँ ४,८२,१४,२१८/०५) स्वतन्त्रता दिवस (१४ अगस्ट) को अवसरमा प्रदान गर्ने घोषणा गरिन्। त्यस्तै, कराँचीमा मेयर बारिस्टर मुर्ताजा वाहबले नदिमलाई सिन्ध सरकारको तर्फबाट पाकिस्तानी रुपी ५ करोड (नेपाली रुपैयाँ २,४१,०७,१०९/०३) दिने सामाजिक सञ्जाल एक्समार्फत् जनाएका छन्। उनले नदिमलाई व्यक्तिगत रूपमा १० लाख पाकिस्तानी रुपी दिने पनि बताएका छन्।
सिन्धका गभर्नर कामरन खान तेसोरीले २० लाख, गायक अली जाफरले १० लाख दिने एक्सले लेखेका छन्। सुक्कुरमा मेयर बारिस्टर अर्सलन इस्लाम शैखले नदिमलाई सुनको मुकुटबाट सम्मान गर्दै उनकै नाममा सुक्कुरमा नयाँ रंगशालामा निर्माण गर्ने घोषणा गरे। कराँचीमा आर्शद नदिम एथलेटिक्स एकेडेमी स्थापना गर्ने घोषणा पनि भइसकेको छ।
गत वर्षको विश्व च्याम्पियनसिपमा रजत पदक हात पारेका नदिमले पेरिसमा ९२.९७ मिटर फाल्दै ज्याभलिन थ्रोमा स्वर्ण जितेका हुन्। पाकिस्तानले ओलम्पिकमा जितेको चौथो स्वर्ण हो यो। ४० वर्षयता ओलम्पिकमा पाकिस्तानको पहिलो स्वर्ण हो भने व्यक्तिगत स्पर्धाको पहिलो स्वर्ण पनि नदिमले नै दिलाएका हुन्।
उनले भारतका डिफेन्डिङ च्याम्पियन नीरज चोपरालाई रजतमा खुम्च्याउँदै ऐतिहासिक सफलता हात पारेका हुन्। नीरजले ८९.४५ मिटर फालेका थिए। निरजले ३ वर्षअघि टोकियोमा स्वर्ण जित्दा नदिम पाँचौं भएका थिए। नदिमले दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग २०१९) अन्तर्गत ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका थिए।
एकपछि अर्को सफलता चुमिरहेका नदिमको ओलम्पिक स्वर्णलाई पाकिस्तानमा देशको स्वतन्त्रता दिवस नजिकिँदा उत्कृष्ट उपहारको रूपमा लिइएको छ। त्यसैले पनि उनी करोडौं पुरस्कारको हकदार हुने नै भए।