काठमाडौं । ४५ औं चेस ओलम्पियाड २०२४ को तयारीमा नेपाली टिमलाई प्रशिक्षण दिनका निम्ति ग्रान्डमास्टर (जीएम) मुर्ताज कागालेयेभ मंगलबार काठमाडौं आइपुगेका छन् ।
उनी कजाखस्तान चेस महासंघको कार्यक्रम ‘प्रोजेक्ट फ्रिडम एसियन चेस इनिसिएटिभ’ अन्तर्गत् नेपाली टिमलाई प्रशिक्षण दिन आएका हुन् ।
उनले यहाँ १५ दिन प्रशिक्षण दिनेछन् । त्यसपछि थप १५ दिन अनलाइन प्रशिक्षण पनि सम्हाल्नेछन् । फिडे रेटिङ २४८१ म रहेका मुर्ताज उच्च रेटिङ २६५३ (नोभेम्बर २००९) सम्म पुगेका थिए ।
‘नेपाली टिमले पहिलोपल्ट जीएम स्तरका प्रशिक्षकसँग तालिम गर्ने अवसर पाएको छ,’ नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले भने, ‘महासंघका उपमहासचिव (मोनालिशा खम्बू) को पहलमा मुर्ताजलाई नेपाल ल्यायउन सफल भएका छौं । उनको प्रशिक्षणमा नेपाली खेलाडीले ओलम्पियाडमा राम्रो प्रदर्शन गर्ने आशा गरेका छौं ।’
उपमहासचिव खम्बूका अनुसार मुर्ताज १५ औं एसियाली खेलकुद (सन् २००६ दोहा) मा र्यापिडतर्फका स्वर्णपदक विजेता हुन् । एसियन इन्डोर गेम्स २००७ मा दुई रजत (क्लासिकल र र्यापिड) जितेका मुर्ताज दुईपल्टका पेरिस सिटी चेस च्याम्पियन पनि हुन् । उनले चेस ओलम्पियाड ६ पल्ट खेलेका छन् ।
सेप्टेम्बर १० देखि २३ सम्म हंगेरीको बुडापेस्टमा हुने ४५ औं ओलम्पियाडमा नेपालका पुरुष र महिला टिमले प्रतिस्पर्धा गर्दैछन् ।
अस्ट्रेलियामा रहेका विवेक थिङसहित क्षितीज भण्डारी, रुपेश जैयसवाल, राजन सुवेदी र सुश्रुत दाहाल पुरुष टिममा छन् । महिला टिममा सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठ रहेका छन् ।