काठमाडौं। बेल्जियमको ओलम्पिक कमिटीले पेरिस ओलम्पिकको मिश्रित रिले ट्रायथलनमा नाम फिर्ता लिएको छ। सेन नदीमा पौडी खेलेका एक प्रतिस्पर्धी बिरामी परेपछि कमिटीले नाम फिर्ता लिएको हो।
बेल्जियम ओलम्पिक तथा इन्टरफेडरल कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'महिला ट्रायथलनमा बुधबार भाग लिएकी क्लेयर मिचेल अस्वस्थ छिन्। त्यसैले प्रतियोगिताबाट नाम फिर्ता लिएका छौं।'
पेरिस ओलम्पिक आयोजकले मिचेलको अवस्थाबारे कुनै दिएको थिएन। तर, आइतबार राति एक विज्ञप्ति जारी गर्दै मिश्रित रिले ट्रायथलन सोमबार बिहान ८ बजे सुरु हुने जनाएको थियो। प्रतियोगिताको पौडी भाग सेन नदीमा हुनेछ।
बेल्जियन कमिटीको वक्तव्यमा मिचेललाई के भएको हो विस्तृतमा जानकारी दिइएको छैन। तर, नदीको पानीको गुणस्तरको बारेमा चिन्ता व्यक्त भएपछि नाम फिर्ता लिने घोषणा गरिएको हो। ट्रायथलनको व्यक्तिगत विधाको दिन गरिएको पानीको गुणस्तर परीक्षणले ब्याक्टेरियाको स्तर धेरै राम्रो देखाएको आयोजकहरूले बताएका थिए।
आइतबार राति विश्व ट्रायथलन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधि, पेरिस ओलम्पिकका आयोजक र क्षेत्रीय तथा मौसम अधिकारीहरूले पानीको परीक्षणको समीक्षा गरेका थिए। नतिजाले ट्रायथलन साइटमा पानीको गुणस्तरमा हालैका घण्टामा सुधार भएको देखाएको छ। यस्तै, विश्व ट्रायथलनले अनिवार्य गरेको सीमाभित्र रहेको संकेत गरेको छ।