काठमाडौं। घरेलु टोली नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको तेस्रो खेलमा इरानसँग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा नेपाल पाहुना टोली इरानसँग २-३ को सेटमा पराजित भएको हो।
शनिबार मात्रै उपाधिको दाबेदार भारतलाई ३-२ को सेटमा पराजित गर्दै ऐतिहासिक जित निकालेको नेपाली टोली आइतबारको खेलमा भने निक्कै थकित देखिएको थियो। युवा खेलाडीले भरिएको इरानसँग नेपालले पहिलो सेटमा उत्कृष्ट खेल पस्किन सकेन। र, नेपाल १६-२५ ले पराजित हुन पुग्यो। दोस्रो सेटमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्यो। उक्त सेट नेपाल २५-१६ ले आफ्नो पक्षमा पार्न सफल भयो।
तेस्रो सेटमा भने निक्कै प्रतिस्पर्धात्मक रह्यो। एक समय नेपाल ८-१० ले पछि परेको थियो। तर, इरानविरुद्ध उत्कृष्ट पुनरागमन गर्न सफल भयो। इरानले चार अंक आफ्नो खातामा जोड्दा नेपाल भने ७ अंक बटुल्न सफल भयो। तर, त्यसपछि इरानले लगातार पाँच अंक जोड्दै सेट २३-२५ ले आफ्नो पक्षमा पार्यो।
चौथो सेट भने एकतर्फी रह्यो। उक्त सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पार्यो। निकै प्रतिस्पर्धात्मक पाँचौं तथा अन्तिम सेट कुनै समय पछि परिसकेको नेपालले ४-४ को बराबरी गरेको थियो। तर, त्यसपछि इरानलाई नेपालले भेट्टाउन सकेन। अन्तिम नेपाल १३-१४ को स्थितिमा पुगेको थियो। तर, डिफेन्स कमजोर हुँदा नेपालले खेल १३-१५ ले गुमाउँदै पहिलो पराजय बेहोर्यो।
यसअघि नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। भारतमाथि भने नेपालले ३-२ को रोमाञ्चक जित हासिल गर्यो। नेपालले तीन खेलमा ६ अंक जोडेको छ। नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार माल्दिभ्सको सामना गर्नेछ।
लगातार तेस्रो जित निकालेको इरानले चार खेलबाट सात अंक जोडेको छ। पहिलो खेलमा भारतसँग इरान ३-१ को सेटमा पराजित भएको थियो। तर, दोस्रो खेलमा इरानले पुनरागमन गर्दै श्रीलंकालाई ३-२ को सेटमा हरायो। तेस्रो खेलमा इरानले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित हासिल गरेको थियो।