काठमाडौं। काभा वुमन्स नेसन्स भलिबल लिगको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
पाँच टोली सहभागी प्रतियोगितामा घरेलु टोली नेपालसहित भारत, इरान र श्रीलंकाले अन्तिम चारमा स्थान पक्का गरेका छन्। भारत दुई जित र एक हारसहित सात अंक जोड्दै शीर्ष स्थानमा छ। भारतले इरानलाई ३-१ र माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। यस्तै, नेपालसँग भने ३-२ को सेटमा पराजित भयो।
नेपालको दुई खेलबाट पाँच अंक रहेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। दोस्रो खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्यो। इरानको पनि पाँच अंक रहेको छ। इरानल श्रीलंकालाई ३-२ र माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।
नेपालसँग ३-० र इरानसँग ३-२ सेटमा हार बेहोरेको श्रीलंकाको भने चार अंक रहेको छ। श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्ने छ। माल्दिभ्सले भने एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। माल्दिभ्सले भारत, इरान र श्रीलंकासँग समान ३-० को सेटमा पराजय बेहोरेको थियो। माल्दिभ्सले अन्तिम खेल घरेलु टोली नेपालसँग खेल्ने तय छ।
लिगको शीर्ष स्थानमा रहने र चौथो हुने टोली तथा दोस्रो स्थानको र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने छ। अन्तिमको दुई खेलले सेमिफाइनलमा को को भिड्छन् भन्ने तय हुनेछ।