काठमाडौं। श्रीलंकाले काभा वुमन्स नेसन्स भलिबल लिगमा पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
श्रीलंका यसअघि नेपालसँग ३-० र इरानसँग ३-२ सेटमा हार बेहोरेको थियो। माल्दिभ्सले भने भारत र इरानसँग समान ३-० को सेटमा पराजय बेहोर्यो।
आइतबार श्रीलंकाले खेल २५-२२, २५-१२, २५-१६ ले आफ्नो पक्षमा पार्यो। जितसँगै श्रीलंकाले तीन खेलमा चार अंक जोडेको छ। तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्ने छ भने माल्दिभ्सले घरेलु टोली नेपालसँग खेल्ने तय छ।