काठमाडौं। काभा वुमन्स नेसन्स भलिबल लिगमा आइतबार घरेलु टोली नेपाल र इरान भिड्दै छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपराह्न ५:१५ बजे सुरु हुनेछ। दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
जारी लिगमा नेपाल उत्कृष्ट लयमा छ। नेपालले पहिलो खेलमा उपाधि जित्ने लक्ष्यसाथ काठमाडौं उत्रिएको श्रीलंकालाई ३–० को सोझो सेटमा निराश पारेको थियो।
दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाइसकेको छ। अब नेपालले लिग चरणमा इरानबाहेक माल्दिभ्सको सामना गर्न बाँकी रहेको छ।
युवा खेलाडीसहित काठमाडौं उत्रिएको इरान पनि सानदार लयमा छ। पहिलो खेलमा भारतसँग ३–१ को सेटमा पराजित भए पनि प्रतियोगितामा पुनरागमन गर्न इरान सफल भएको छ। उसले दोस्रो खेलमा श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो।
यस्तै, शनिबार भएको तेस्रो खेलमा भने माल्दिभ्समाथि इरानले ३–० को सहज जित हासिल गर्यो। इरान यही लयलाई दोहर्याउने लक्ष्यमा हुनेछ।