काठमाडौं। नेपाली महिला टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलमा कमला पुन र मनीषा चौधरीको जोडीले उज्बेकिस्तान ए टोलीलाई २-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो।
नेपालले उज्बेकिस्तान ए लाई २१-१७, २१-१४ ले पराजित गरेको हो। सबै खेलमा अपराजित रहँदै नेपालले उपाधि जितेको हो। शनिबारै भएको सेमिफाइनलमा उज्बेकिस्तान बी टोलीलाई २१-१३, २१-१२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको थियो।
दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमला पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो।