काठमाडौं। इरानले काभा वुमन्स नेसन्स भलिबल लिगको तेस्रो खेलमा मल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपरान्ह्र ५:१५ बजे सुरु हुनेछ। बिहीबार भएको पहिलो खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको थियो।
तर, शुक्रबार भएको दोस्रो खेलमा इरानले श्रीलंकलाई ३–२ को सेटमा पराजित गर्दै पहिलो जित हासिल गरेको थियो। इरानले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा सुरुआती समयबाटै अग्रता बनाएको श्रीलंकाले २२–२५ ले आफ्नो पक्षमा पर्न सफल भयो।
त्यसपछि सानदार पुनरागमन गरेको श्रीलंकाले चौथो सेट १३–२५ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो। त्यसपछि पाँचौँ सेटमा पुग्यो। पाँचौं तथा निर्णायक सेटमा इरान १५–११ ले विजयी भयो।
पहिलो खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको माल्दिभ्सविरुद्ध इरान सोही उत्कृष्ट लयलाई दोहोर्याउने लक्ष्यमा हुनेछ।
भारतसँग माल्दिभ्स पहिलो सेट २५–६ ले पछि परेको थियो। त्यसपछिका दुई सेटमा पनि माल्दिभ्स कमजोर देखियो। भारतले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–१० ले जित्यो। माल्दिभ्स यही कमजोर लयलाई सुधार्ने प्रयासमा हुनेछ।