काठमाडौं। नेपालकी सुटर सुस्मिता नेपालले पेरिस ओलम्पिक २०२४ मा १० मिटर एयर राइफलमा आइतबार प्रतिस्पर्धा गर्ने भएकी छन्। उनले स्थानीय समयअनुसार बिहान ९:१५ बजे प्रतिस्पर्धा गर्न लागेकी हुन्।
सुस्मिताले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा आफ्नो स्थान पक्का गरेकी हुन्। नेपालले सन् १९८८ को सोल ओलम्पिकदेखि सुटिङमा सहभागिता जनाउन थालेको हो। त्यसयता रियो २०१६ बाहेक सबै ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ।
२४ वर्षीया सुटर सुम्मिताले इन्डोनेसियाको जकार्तामा भएको एसियन च्याम्पियनसिप क्वालिफायरमा १० मिटर एयर राइफलमा ६१६.२ स्कोर गरेकी थिइन्। उनी त्यसमा ५० औं वरीयतामा रहेकी थिइन्।
सुस्मिताले १९औं एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरेकी थिइन्। ६०७.९ स्कोरसहित उनी ५८औं स्थानमा रहेकी थिइन्। पेरिस ओलम्पिकमा उनले आफ्नो लक्ष्य सुपर एटमा पुग्ने बताएकी छन्। ‘एकै पल्ट मेडलको आस गर्न मिल्दैन। मेरो लक्ष्य अहिले सुपर एटमा पुग्ने हो,’ उनले पेरिस जानुअघि भनेकी थिइन्।