पेरिस ओलम्पिकको उद्घान आज

काठमाडौं। विशेष सामारोहकाबीच ३३औं गृष्मकालीन ओलम्पिक शुक्रबार फ्रान्सको राजधानी पेरिसमा उद्घाटन हुँदैछ। पेरिस ओलम्पिकमा समावेश केही खेलहरू सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन सेन नदीमा भव्य समारोहबीच गरिन लागिएको हो।
सेन नदी फ्रान्सको सबैभन्दा प्रख्यात नदी हो। यो राजधानी पेरिस हुँदै पूर्वबाट पश्चिमतर्फ बग्छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र फ्रान्स सरकारले ओलम्पिकको उद्घाटन समारोहलाई विशेष र फरक बनाउने प्रयास गरेको छ।
मौलिक र अद्वितीय छनक दिन लागिएको उद्घाटन सत्रमा सहभागी खेलाडीले सेन नदीमा डुंगा परेड गर्नेछन्। आयोजकका अनुसार ओलम्पिक परेडमा १० हजार भन्दा बढी खेलाडीले सहभागिता जनाउने छन्। उक्त परेड सेन नदीको ६ किलो मिटर दूरीमा हुनेछ।
ओलम्पिकमा सहभागी प्रत्येक देशका लागि एउटा डुंगाको व्यवस्था गरिएको छ। उद्घाटनको परेड दर्शकले सबैतिर छरिएर हेर्न पाउनेछन्।
पेरिसमा ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले सहभागिता जनाउनेछन्। जसमा ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा तथा जुडोकी मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्दै छन्।
टेबल टेनिसका स्यान्टु श्रेष्ठले छनोट चरण पार गरेर ओलम्पिक यात्रा तय गरेका हुन्। साउन २७ गतेसम्म चल्ने ओलम्पिकमा दुई सय ६ देशका खेलाडीले विभिन्न ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन्। जसमा तीन सय २९ इभेन्ट्स हुनेछन्।








-1762154705887.png&w=3840&q=75)





