काठमाडौं। सीएम (क्यान्डिडेट मास्टर) भगवतीप्रसाद शर्माले अपराजित रहँदै सर्बाधिक ५.५ अंक बनाउँदै विहीबार सम्पन्न बाग्मती प्रदेश स्तरीय सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति भेट्रान र्यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन्।
५० वर्षमाथिको उक्त प्रतियोगितामा पवन खड्का, दामोदर गैंजु, गणेशमान दुवाल र पुरुषोत्तम दुवाल समान ४.५ अंक जोड्दै शीर्ष पाँचमा रहे। समान अंक भएपनि टाइब्रेकरको आधारमा पवन दोस्रो, दामोदर तेस्रो, गणेशमान चौथो र पुरुषोत्तम पाँचौमा रहे। विजेताले १० हजार, दोस्रोले ५ हजार, तेस्रोले २ हजार ५ सय र चौथो हुनेले १ हजार २ सय ५० रुपिया, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। पँचौंदेखि दसौंसम्म रहनेलाई जनही १ हजार दिइएको थियो।
नरेश स्थापितलाई पराजित गर्दै प्रतियोगिता सुरु गरेका १८५५ रेटिङ ५७ वर्षीय भगवतीले दोस्रो चरणमा तीनपल्टका नेपाल च्याम्पियन बद्रीलाल नेपाली (२००४ रेटेड) सँग बराबरी गर्दै अंक बाँडेका थिए। त्यसपछि लगातार चार खेल जित्ने क्रममा अरुणशंकर वैद्य, दामोदर गैंजु, राजेश कक्षपति र छैटौं तथा अन्तिम चरणमा १९२४ रेटेड पूर्णराज खड्कालाई पराजित गर्दै उपाधि जितेका हुन्।
राजेश कक्षपति, पूर्णराज खड्का, गणेश अवाल (तीनैको ४ अंक), राजेन्द्र बज्राचार्य र बद्रीलाल नेपाली (दुवैको ३.५ अंक) शीर्ष १० मा अटाए। ठमेलमा आयोजित एकदिने प्रतियोतिामा २८ जनाले प्रतिस्पर्धा गरेका थिए, जहाँ पूर्वनेपाल च्याम्पियन नवीन तण्डुकार ३ अंकमात्रै बनाएपछि ११ औं स्थानमा सीमित भए।
नेकपा माओवादी निकट अखिल नेपाल चेस संघले पूर्वखेलाडी सुजेन्द्रप्रसाद श्रेष्ठको स्मृतिमा भेट्रान खेलाडीका लागि प्रतियोगिता आयोजना गरेको हो। नेपाल बुद्धिचाल महासंघमा उपाध्यक्षसमेत भएका श्रेष्ठको २०७९ साल चैत २४ गते मृत्यु भएको थियो। राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०६५ मा तेस्रो भएका उनी एफएम (फिडे मास्टर) पनि भएका थिए।
‘उहाँको सम्मानमा भेट्रान खेलाडीका निम्ति बाग्मतीबाट प्रतियोगिता सुरु गरेका छौं,’ अखिल नेपाल चेस संघका अध्यक्ष दीपेन राईले भने, ‘प्रदेश स्तरीय प्रतियोगिता सबै प्रदेशमा आयोजना गर्दैछौं। सातै प्रदेशका उत्कृष्ट खेलाडीहरूलाई समावेश गरी राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्नेछौं।’
नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका राईकाअनुसार प्रदेश स्तरीय प्रतियोगिता लुम्बिनीमा असाढ १७ गते, कर्णाली असाढ १९, सुदूरपश्चिम असाढ २०, कोशीमा असाढ २२, मधेशमा असाढ २४ र गण्डकीमा असाढ २९ गते हुनेछ। त्यसपछि राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ।