धनगढी। क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा सर्वोकृष्ट खेलाडी घोषित भएका छन्।
खेलकुद पत्रकार मञ्च कैलालीका आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रबद्र्धनमा भएको अवार्डको वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
क्रिकेटका ऐरीसँगै भलिबलका टेकराज अवस्थी र भारोत्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका थिए। कबड्डीकी बडूसँगै वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना परेकी थिइन्। यो विधाका उत्कृष्ट खेलाडी पुरुष र महिलाले ३५/३५ हजार प्राप्त गरेका छन्।
कबड्डीका विष्णुदत्त भट्ट वर्ष प्रशिक्षक भएका छन्। वर्ष प्रशिक्षक विधामा भारोत्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी मनोनयनमा परेका थिए। यो विधाका उत्कृष्ट भएका प्रशिक्षकले ३० हजार प्राप्त गरे। वर्ष युवा खेलाडी भारोत्तोलनका हेमन्त पाल भए। यो विधामा फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द मनोनयनमा परेका थिए। यो विधाका विजेताले २५ हजार प्राप्त गरे।
सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजेता भएका छन्। यो विधामा एथलेटिक्सका आशिष महर र शारीरिक सुगठनका रञ्जित लामा मनोनयनमा परेका थिए। सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी विजेता भएकी छिन्। यो विधामा क्रिकेटकी मनीषा बोहरा र फुटबलकी विर्सना चौधरी मनोनयनमा परेकी थिइन्। सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले २०/२० हजार प्राप्त गरेका छन्।
‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को लाइफ टाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द विष्टले पाएका छन्। उनले नगद २५ हजार प्राप्त गरे। स्पेसल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्त रूपमा पाए। उनीहरूले जनही साढे १२÷१२ हजार प्राप्त गरे।