काठमाडौं । अभिक शाहले टाइब्रेकरको आधारमा पुरुषोत्तम सिलवाललाई पन्छाउँदै आइतबार गोल्डेनगेट एसइई कप २०२४ र्यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन् ।
हिमालयन चेस एकेडेमीको आयोजनामा गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीमा स्विस प्रणालीको आधारमा सात चरणमा भएको प्रतियोगितामा अभिक र शीर्ष वरीयता १९७२ रेटिङका पुरुषोत्तमले समान ६.५ अंक जोडेका थिए । यी दुईबीच पाँचौं चरणमा भएको प्रतिस्पर्धा बराबरीमा टुंगिएको थियो । त्यसैले टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई उछिन्दै १८२५ रेटिङका अभिकले एसइई कपको उपाधि जितेका हुन् ।
जेम्स स्कुलका अभिकले पुरुषोत्तमसँग अंक बाँडेपछि रोहन खतिवडा र अनुप सिवाकोटीलाई पराजित गर्दै उपाधि निश्चित गरेका थिए । त्यसअघि उनले मन्जयकुमार पटेल, विभूषित कायस्थ, तेजश अटल र रोहित श्रेष्ठलाई हराएका थिए । नेसनल चेस च्याम्पियनसिप २०२४ मा पाँचौं भएका पुरुषोत्तमले अघिल्लो दिन चारै खेल जितेका थिए । उनले अभिकसँग बराबरी गरेपछि अन्तिम दुई चरणमा विभूषित र तेजशलाई पराजित गरेका थिए । उनले पहिलो दिन हरेन्द्रकुमार महतो, स्वीतकराज जोशी, शम्बुहाङ राई र निश्चल अधिकारीलाई पराजित गरेका थिए ।
विभूषित, रोहित, रोहन र रायन श्रेष्ठले समान ५ अंक बनाए । तेजश र अनुपले समान ४.५ अंक बटुले । निश्चल र राहुल सहनी समान ४ अंकसहित शीर्ष १० मा अटाए ।
गर्ल्सको उपाधि अंशुलाई
गर्ल्स को उपाधि अंशु दिल प्रजापतिले जितेकी छन् । मेधा माध्यमिक विद्यालयकी उनले ३ अंक जोड्दै सफलता हात पारेकी हुन् । उनी नेसनल चेस च्याम्पियनसिप २०२४ मा नवौं स्थानमा रहेकी खेलाडी हुन् । एसइई कपमा कृशला प्रजापति दोस्रो र जेसिका सिंह तेस्रोमा रहे । दुवैले समान २ अंक जोडे पनि टाइब्रेकरको आधारमा कृशला अगाडि रहिन् ।
यसैपालि एसइई परीक्षा दिएका ४१ खेलाडी सहभागी प्रतियोगितामा खुला तथा गर्ल्स दुवै स्पर्धाका विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र तेस्रो भएका खेलाडीलाई ३ हजार रुपैयाँ प्रदान गरियो । विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बू, गोल्डेनगेट इन्टरनेसनल कलेजकी निर्देशक सैल सुमन सिलवाल, प्रिन्सिपल रोहित पौडेलले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताका मुख्य प्रायोजक गोल्डेनगेट कलेजले कुनै पनि विषयमा दुवै स्पर्धाका विजेतालाई शतप्रतिशत छात्रवृत्ति, उपविजेतालाई ७५ प्रतिशत र तेस्रालाई ५० प्रतिशत छात्रवृत्ति पाएका छन् । त्यस्तै, सहभागी सबै खेलाडीलाई एक तिहाइ (३३.३३ प्रतिशत) छात्रवृत्ति दिने घोषणा गरिएको छ ।