काठमाडौं। हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु भएको गोल्डेनगेट एसइई कप २०२४ र्यापिड चेस प्रतियोगिताको पहिलो दिन अभिक शाह चार अंकसहित शीर्षस्थानमा रहेका छन्।
जेम्स स्कुलका १८२५ रेटिङका अभिकले गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीमा आयोजित एसइई कपमा मन्जयकुमार पटेल, विभूषित कायस्थ, तेजश अटल र रोहित श्रेष्ठलाई पराजित गर्दै चार अंक बनाएका हुन्। शीर्ष वरीयता १९७२ रेटिङका पुरुषोत्तम सिलवालले पनि हरेन्द्रकुमार महतो, स्वीतकराज जोशी, शम्बुहाङ राई र निश्चल अधिकारीलाई पराजित गर्दै अभिकसमान चार अंक बनाए। तर, समान अंक भएपनि टाइब्रेकरको आधारमा अभिक शीर्षस्थानमा छन्।
स्वीस प्रणलीको आधारमा सपात राउन्डमा आयोजित प्रतियोगिताको पाँचौं चरणमा आइतबार पुरुषोत्तम र अभिक आपसमा प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, ६ खेलाडीले समान तीन अंक जाडेका छन्, जसमा तेजश, स्वस्तीकराज, निश्चल, विभूषित, रोहित, रोहन खतिवडा, अनुप सिवाकोटी छन्। शम्बुहाङ दुई अंक बटुल्दै पहिलो दिन शीर्ष १० मा रहे।
गर्ल्सतर्फ अंशु दिल प्रजापति शीर्षस्थानमा छिन्। उनले दुई अंक बनाएकी छन्। जेसिका सिंह एक अंकसहित दोस्रो स्थानमा छिन्। हिमालयन चेस एकेडेमीको आयोजना तथा गोल्डेनगेट इन्टरनेसनल कलेजको प्रायोजनमा आयोजित एसइई कप सातौं चरणको प्रतिस्पर्धासँगै आइतबार सम्पन्न हुनेछ।
यसपालि एसइई परीक्षा दिएका खेलाडी सहभागि प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेस्रो हुनेले तीन हजार रुपियाँसँगै गोल्डेनगेट इन्टरनेसनल कलेजमा छात्रवृत्ति पाउनेछन्। गोल्डेनगेटमा उपलब्ध जुनसुकै विषयमा विजेतालाई शतप्रतिशत, उपविजेतालाई ७५ प्रतिशत र तेस्रो हुने खेलाडीलाई ५० प्रतिशत छात्रवृत्ति दिइनेछ।