काठमाडौं। हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप २०२४’ शनिबारदेखि हुने भएको छ। यसैपालि एसइई (सेकेन्डरी एजुकेसन एक्ज्यामिनेसन) दिएका करिब एक सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ।
तीन दिने प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूले बताइन्। उनकाअनुसार प्रतियोगिता ओपन र गर्ल्स गरी दुई क्याटगोरीमा सञ्चालन गरिनेछ, जसमा समान पुरस्कार विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र ३ हजार रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र दिइने छ।
प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई गोल्डेटगेट इन्टरनेसनल कलेजले छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ। कलेजकी निर्देशक सैल सुमन सिलवालकाअनुसार जुनसुकै विषयमा पनि विजेतालाई पूर्ण छात्रवृत्ति दिइनेछ भने उपविजेताले ७५ प्रतिशत र तेस्रो हुने खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन्।
फागुन, २०८० देखि सञ्चालनमा आएको हिमालयन चेस एकेडेमीले अहिले ५ वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको उल्लेख गर्दै एकेडेमीकी अध्यक्ष खम्बूले भनिन्, ‘एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता हो एसइई कप। गोल्डेनगेटले पहिला पनि यस्ता प्रतियोगिता दुईपल्ट गरेको थियो। आगामी दिनमा यसलाई अझै बृहत् बनाउनेछौं एसइई कपबाट नयाँ र उदीयमान खेलाडी आउन विश्वास गरेकी छु।’
‘हामीले चेससहित धेरै खेलमा विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छौं। यसैलाई एसइई कपमा निरन्तरता दिँदैछौं,’ गोल्डेनगेटकी निर्देशक सिलवालले भनिन्। चेसका राष्ट्रिय च्याम्पियनहरू मोनालिसा खम्बू, तारा घले, बिना जैयसवाल, मदनकृष्ण कायस्थ, रुपेश जैयसवाललगायतले छात्रवृत्तिमै गोल्डेनगेटमा अध्ययन गरेका थिए।