काठमाडौं। विद्यालय खेलकुदमा पौडी खेलको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पौडी संघले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ ।
विद्यालय खेलकुदमा पौडी खेलको विकास र प्रवर्द्धन गर्ने लक्ष्यसहित पौडी संघले विद्यालय खेलकुद महासंघसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतामा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) समेत साझेदार रहनेछ । आईएसएफको प्रतिनिधिको रूपमा आईएसएफका कार्यकारी सदस्य राजकुमार कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार विद्यालय खेलकुदको अभियानमा पौडी संघ साझेदार संस्थाको रूपमा रहने सहमति छ । सम्झौता अनुसार विद्यालय खेलकुदमा पौडी खेलका प्रतियोगिता, पूर्वाधार विकास, नीति निर्माण, तालिम तथा क्षमता अभिवृद्धि, खोज अनुसन्धानमा दुवै संस्थाले मिलेर काम गर्ने उल्लेख छ ।