काठमाडौं । मंगोलियन टिम फोर मिरेकल भाइब्स पब्जी मोबाइल सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ च्याम्पियन भएको छ । उसले कपन, काठमाडौं शनिबार सम्पन्न दुई लाख अमेरिकी डलर (करिब दुई करोड ७० लाख रुपैयाँ) पुरस्कार रहेको प्रतियोगिताको फाइनल्समा सर्बाधिक १९५ अंक बनाउँदै उपाधि जितेको हो ।
क्राफ्टन, लेवल इन्फिनाइट र नोडविन गेमिङद्वारा पहिलोपल्ट नेपालमा आयोजित पब्जी मोबाइलको औपचारिक प्रतियोगितामा मंगोलयिाकै फ्याल्कन फोर्स १७१ अंकसहित दोस्रो भयो भने कजाखस्तानको म्याड बुल्स १४६ अंक जोड्दै तेस्रो भयो । तीन दिने फाइनल्समा आईएचसी इस्पोर्ट्स १३५ अंक बटुल्दै चौथोमा रह्यो । कजाखस्तानको रुक इस्पोर्ट्स १३० अंक बनाउँदै पाँचौं भयो ।
आठ देशका २० टिम सहभागि प्रतियोगितामा तीन साताको प्रतिस्पर्धापछि उत्कृष्ट १६ टिम फाइनल्समा छनोट भएका थिए । तीन दिने फाइनल्सका शीर्ष चार टिम फोर मिरेकल, फ्याल्कन, म्याड बुल्स र आईएचसीले जुलाई, २०२४ मा साउदी अरेबियाको रियादमा हुने ३० लाख डलर पुरस्कारको पब्जी मोबाइल विश्वकप २०२४ को समूह चरणमा खेल्ने पनि पक्का गरे । पाँचौंमा रहेको रुकले सर्भाइवल चरणमा अवसर पाउनेछ, जसमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपको समूह चरणमा प्रवेश गर्नसक्नेछ ।
प्रतियोगितामा दुई नेपाली टिम डीआरएस (द रियल सोल्जर्स) र होर इस्पोर्ट्सले पनि फाइनल्स खेलेका थिए । तर, दुवै टिम विश्वकपमा स्थान बनाउन असफल रह्यो । फाइनल्समा अन्तिम दिनको खेलमा लय समात्न नसकेको डीआरएस १२५ अंकसहित सातौं भयो भने होर इस्पोर्ट्स (९८ अंक) ले १३ औं स्थानमा रहेर फाइनल्स टुंग्यायो ।
विजेता भएको फोर मिरेकलले ३७ हजार ६ सय डलर प्राप्त गर्यो । उपविजेता फ्याल्कनले २२ हजार ६ सय र म्याड बुल्सले २१ हजार दुई सय हात पारे । नेपाली टिम डीआरएसले १० हजार आठ सय डलर र होर इस्पोर्ट्सले सात हजार सात सय डलर प्राप्त गरे ।