काठमाडौं। तेस्रो कार्यकाल अध्यक्ष बन्नेगरी जीवनराम श्रेष्ठले नेपाल ओलम्पिक कमिटी (एनओसी)को विधान संशोधनको तयारी गरेका छन्।
नेतृत्वको हिसाबले आफ्नो दोस्रो कार्यकालको उत्तरार्धमा रहेका जीवनरामले एनओसी कार्यसमिति बैठकमा विधान संशोधनको अजेन्डा प्रवेश गराएका हुन्। बिहीबार एनओसी हेडक्वार्टर सातदोबाटोमा बसेको कार्यसमिति बैठकमा महासचिव निलेन्द्रराज श्रेष्ठले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए।
बैठकमा अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय रूपमा धेरै कुरा नमिलेको भन्दै विधान संशोधन गर्नुपर्ने बताएका थिए। उनले विधानमा धेरै त्रुटि रहेको भन्दै विधानलाई मिलाउन र संशोधन गर्न आवश्यक रहेको धारणा बैठकमा राखेका थिए। तर, विधानमा के के संशोधन गर्ने भन्ने विषयमा भने जीवनरामले केही बोलेनन्।
अध्यक्षकै प्रस्तावमा बैठकले विधान संशोधनको विषय टुंगो लगाउनेगरी सल्लाहकार लोकभक्त राणालाई जिम्मेवारी दिएको छ। ओलम्पिक विधानमा अध्यक्ष र महासचिवमा मात्र दुई कार्यकाल रहने व्यवस्था छ। सोहीअनुसार ध्रुर्वबहादुर प्रधानले दुई कार्यकाल अध्यक्षको रूपमा रहेर जीवनरामलाई नेतृत्व हस्तान्तरण गरेका थिए। प्रधानपछि एनओसी नेतृत्वमा आएका श्रेष्ठले दुई कार्यकाल जिम्मेवारी लगभग पूरा गरिसकेका छन्।
करिब १७ वर्ष ओलम्पिकको मूल नेतृत्वमा रहेका जीवनरामले दुई कार्यकाल मात्र अध्यक्ष रहन मिल्ने एनओसीको कानुनी व्यवस्था र परम्परालाई संशोधन गर्न खोजेका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा समेत एउटै व्यक्ति लामो समय नेतृत्वमा रहने खेलकुदको खराब परम्परालाई नीतिगत रूपमा सुधार गर्दै मुख्य पदमा बढीमा दुई कार्यकालको व्यवस्था गरेको छ।
ओलम्पिकका एक पदाधिकारीका अनुसार अध्यक्ष श्रेष्ठले विधान संशोधन गरेर तेस्रो पटक नेतृत्व लिने गृहकार्य सुरु गरेका छन्। आफूपछि एनओसीको नेतृत्वमा दाउ हेरेर बसेका महासचिव निलेन्द्रराज श्रेष्ठ, ज्योति राणा, चतुरानन्द वैद्यलगायतसँग जीवनरामले आफ्नो कुरा राखिसकेका छन्।
‘उहाँले गोप्य रूपमा वर्तमान कार्यसमिति नै दोहरिने गरी आफूलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा प्रस्ताव गर्नुभएको छ। फेरी अध्यक्ष बन्न मिल्ने गरी विधान संशोधनको एजेन्डा बैठकमा आएको हो,’ ती पदाधिकारीले भने।
विधान संशोधनमा चित्त नबुझे पनि कुनै पदाधिकारीले जीवनरामको प्रस्तावमाथि मुख खोलेका छैनन्। महासचिव र अध्यक्ष गरी चार कार्यकाल ओलम्पिकमा बिताएका जीवनरामको प्रतिवाद गर्दा आफू किनारामा पर्ने डर अधिकांश कार्यसमितिका पदाधिकारीमा देखिन्छ। ‘सम्भवतः अर्को बैठकमा संशोधनको प्रस्ताव आउनेछ। कार्यसमिति बैठकमा सर्वसम्मत विधान संशोधन गर्ने उहाँको प्रयास छ, त्यो सफल हुँदैन,’ तीन पदाधिकारीले भने।
राष्ट्रिय खेलकुद परिषद्मा दुई कार्यकाल सदस्यसचिव रहेका जीवनराम विगत डेढ दशकभन्दा बढी समयदेखि ओलम्पिकको मूल नेतृत्वमा छन्। पदीय लोलुपता र व्यक्तिगत स्वार्थका लागि खेलकुदमा चरम राजनीति र दुरुपयोग गरेको आरोप उनीमाथि लाग्ने गरेको छ।
उनी दोस्रो पटक २०७६ साल भाद्र २८ गते एनओसीको अध्यक्षमा निर्वाचित भएका थिए। गत वर्ष नै कार्यकाल सकिए पनि पेरिस ओलम्पिकपछि निर्वाचन गर्ने भन्दै एक वर्षका लागि कार्यसमितिको समय थप गरिएको थियो। अर्को महिना सुरु हुने पेरिस ओलम्पिकको समापनसँगै एनओसी नयाँ नेतृत्वका लागि औपचारिक रूपमा चुनावी प्रक्रियामा अघि बढ्ने देखिन्छ।