पोखरा। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भइरहेको यु–१५ विद्यालय खेलकुद प्रतियोगिता नेपाली खेलकुदमा नयाँ इतिहास भएको बताएका छन्।
पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले विद्यालय स्तरबाटै खेलकुदको विकास गर्न यु–१५ विद्यालय खेलकुदको थालनी गरिएकोमा यो मानक बन्ने बताए।
‘नेपाली खेलकुदमा पहिलो पटक १५ वर्षमुनिमा विद्यालयस्तरको प्रतियोगिता आयोजना भइरहेको छ। आ–आफ्नो प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्दै यो पहिलो प्रतियोगितामा आफ्नो नाम राख्न सफल खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र यहाँहरूको नाम इतिहासमा लेखिसकेको छ, सदस्य– सचिव घिसिङले भने, ‘हामीले खेलकुदको विकासको लागि ग्रास रुट अर्थात् विद्यालय स्तरका प्रतियोगितालाई गर्ने भनेको दशकौँ भइसकेको छ। के हामीले यसको सधैँ परिभाषा मात्र गरिरहेका छौँ? यसलाई कार्यान्वयन गर्न आफैँले जवाफ खोज्ने बेला भएको छ। यसैको तयारी र कोसिस स्वरूप आज यु–१५ राष्ट्रिय खेलकुदको थालनी भएको छ।’
सदस्य–सचिव घिसिङले यु–१५ विद्यालय खेलकुद नेपाली खेलकुदको जग भएको बताए। ‘नेपाली खेलकुदको जग विद्यालय खेलकुदलाई प्रभावकारी ढंगले अगाडी बढाउँदै नयाँ प्रतिभाहरूलाई अवसर दिनुपर्छ। त्यसैले यो खेलको आफ्नै महत्त्व छ। यसको उद्देश्य ठूलो छ।’
सदस्य–सचिव घिसिङले नेपाली खेलकुदमा यु–१५ विद्यालय खेलकुदले नेपाली खेलकुदमा नयाँ बेन्चमार्क सेट गर्ने बताए। ‘विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि हामीले यस पटकदेखि विश्वविद्यालय खेलकुद आरम्भ गरौँ। राष्ट्रपति रनिङ शिल्ड पनि सञ्चालन भइरहेको छ। त्यसैको शृंखलाबद्ध प्रतियोगिता स्वरूप यु–१५ विद्यालय खेलकुद सुरुआत गरेका छौँ। यसलाई पिरामिड शैलीमा गर्दै जानेछौँ।’
यसलाई भविष्यमा अझ व्यापक रूपमा आयोजना गर्ने सदस्य सचिव घिसिङले बताए। ‘विद्यालयबाटै भविष्यका स्टार जन्माउनुपर्छ। बालबालिकालाई खेलकुदको बारेमा बुझाउनुपर्छ भनेर हामी पहिलो पटक य–ू१५ विद्यालय खेलकुदको थालनी गरेका छौँ, सदस्य–सचिव घिसिङले भने, ‘यसलाई भविष्यमा निरन्तरता दिँदै अझै बृहत् रूपमा आयोजना गर्दै जानेछौँ।