काठमाडौं। केही वर्षयता नेपालमा ईस्पोर्ट्सको लोकप्रियता ह्वात्तै बढेको छ। भर्चुअल खेलमा पनि पब्जीको क्रेज अत्यधिक छ। पब्जी मोबाइलका खेलाडी सेलिब्रेटी स्थापित भइरहेका छन्।
यहाँ लोकप्रिय भएकाले नै हुनसक्छ, पब्जीको औपचारिक प्रतियोगिता ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४’ काठमाडौं भइरहेको छ, जहाँ ८ देशका २० टिमले प्रतिस्पर्धा गरिरहेका छन्। अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको फिल्ड इभेन्ट नेपालमा आयोजना पहिलोपल्ट गरिएको गरिएको हो।
दक्षिण कोरियन भिडियो गेम पब्लिसर क्राफ्टन, लेवल इन्फिनाइट र इन्डियन कम्पनी नोडविन गेमिङद्वारा आयोजित पीएमएसएलको २ लाख अमेरिकी डलर (करिब २ करोड ७० लाख रुपैयाँ) ले पनि पब्जीको क्रेज देखाउँछ। तीन हप्ता चल्ने प्रतियोगिताको लागि खेलाडीहरूसहित करिब १ सय जनाको पाँचतारे होटेलको बसाइले पनि पब्जीको आकर्षण प्रस्ट पार्छ।
नेपालका दुई टिम डीआरएस (द रियल सोल्जर्स) गेमिङ र होर ईस्पोर्ट्सले प्रतिस्पर्धा गरिरहेका छन्। यी दुई नेपालसहित मंगोलियाका ५, कजाखस्तानका ५, पाकिस्तानका ४, बंगलादेशका २, उज्बेकिस्तानका १ र युक्रेनको १ गरी २० टिमले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरे, जसबाट शीर्ष १६ टिम फाइनल्समा प्रवेश गरेका छन्। स्वदेशी टिमहरू डीआरएसले चौथो र होरले सातौं स्थान हासिल गर्दै फाइनल्सको यात्रा तय गरेका छन्।
पब्जीमा कमाई पनि राम्रो छ। थुप्रै खेलाडीले मासिक १ लाख हाराहारी तलब लिइरहेका छन्। यो पीएमएसएल सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ का विजेताले २६ हजार डलर, उपविजेताले १८ हजार, तेस्रोले १४ हजार डलर पाउनेछन्। फाइनल्स खेल्नेले कम्तीमा २ हजार डलर पाउनेछ। राउन्ड रोबिन लिगको विजेताले ७ हजार, उपविजेताले ५ हजार, तेस्रोले ४ हजार प्राप्त गर्नेछ। प्रत्येक चिकेन डिनरको २ सय डलर तोकिएको छ।
कपनमा भइरहेको पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को छनोट पनि हो। वर्ल्डकप रियामा जुलाई, २०२४ मा साउदी अरेबियाको रियादमा हुँदैछ। वर्ल्डकपको पुरस्कार ३० लाख डलर (करिब ४० करोड ६ लाख रुपैयाँ) रहेको छ।
पीएमएसएल सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ फाइनल्सका शीर्ष ४ टिमले वर्ल्डकप २०२४ को समूह चरणमा प्रवेश पाउनेछन्। यहाँ पाँचौं हुने टिमले वर्ल्डकप को सर्भाइवल स्टेजमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछ, जसको उत्कृष्ट ४ टिमले पनि मुख्य चरणमा अवसर खेल्ने अवसर पाउनेछ।