काठमाडौं । काठमाडौंमा सञ्चालन भइरहेको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ को लिग चरणको खेलको समाप्तिमा मंगोलियन टिम फोर मिरेकल भाईब्स् ६५४ अंकसहित शीर्षस्थान हासिल गर्न सफल भएको छ।
कजाखस्तानका दुई टोली रुक इस्पोर्ट्स र म्याड बुल्स क्रमशः ५९८ र ५९३ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहे। नेपाली टोली डीआरएस (द रियल सोल्जर) ५४६ अंक जोड्दै चौथो स्थानमा रह्यो भने अर्को स्वदेशी टोली होरा इस्पोर्ट्स ४७३ अंक बनाएपनि एक स्थान गुमाएर सातौंंमा झरेको छ।
पहिलो हप्ता डीआरस २०४ अंक, दोस्रो हप्ता म्याड बुल्स २१४ अंक र तेस्रो हप्ता फोर मिरेकल भाईब्स् २५२ अंकसहित शीर्षस्थानमा रहेका थिए । राउन्ड रोबिन लिगको अधारमा चलिरहेको प्रतिस्पर्धाको प्राराम्भिक चरण तेस्रो हप्ताको अन्तिम खेलसँगै सकिएको छ । कुल २ लाख अमेरिकी डलर पुस्करको प्रतियोगितामा लिगका उत्कृष्ट १६ टिम फाइनल्सको लागि छनोट भएका छन् । तीन दिन सञ्चालन हुने फाइनल जेठ ३१ गते विहीबार सुरु हुनेछ ।
सुपर लिगमा नेपालका दुईसहित ७ देशका २० टोलीको सहभागिता रहेको छ। विदेशी टिममा पाकिस्तान, बंगलादेश, मंगोलिया, कजाखस्तान, युक्रेन र उज्वेकिस्तान छन्। सहभागी २० टिममध्ये लिग चरणमा पुछारमा रहेका चार टिमको यात्रा समाप्त भएको छ ।
यस प्रतियोगिताको शीर्ष ४ टिमले जुलाईमा रियाद, साउदी अरेबियामा हुने पब्जी मोबाइल वर्ल्डकप २०२४ को समूह चरणमा स्थान पाउनेछन्। यहाँ पाँचौ हुने टोलीले भने पब्जी मोबाइल वल्र्डकप २०२४ को सर्भाइवल चरण खेल्नेछ, त्यसबाट उसले वल्र्डकपको समूह चरणमा स्थान बनाउनसक्नेछ ।