काठमाडौं। ई स्पोर्ट्स संघ नेपालले पहिलो राष्ट्रिय च्याम्पियनसिप असार मध्यमा गर्ने भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने प्रतियोगिता असार १४ र १५ गते सञ्चालन हुने अध्यक्ष अन्जन धमलाले जानकारी दिएका हुन्।
ई स्पोर्ट्सको लोकप्रिय खेल विधा पब्जी मोबाइल, मोबाइल लिजेण्ड व्याङ्ग ब्याङ्ग (एमएलबीबी) र ई- फुटबललाई प्रतियोगितामा समावेश गरिएको उनले जानकारी दिए। प्रतियोगिताका खेलहरू भर्चुअल र फिल्ड इभेन्ट्सका रुपमा सञ्चालन हुनेछन् ।
पब्जी मोबाइलको छनोट अनलाइनमार्फत हुने र अन्तिम १६ को फाइनल राउन्ड भौतिक रुपमा हुनेछ। मोबाइल लिजेन्डका सम्पूर्ण खेल अनलाइन र ई फुटबलको प्रारम्भिक छनोट अनलाइन र सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा सञ्चालन गरिनेछ । लोकप्रियता, अन्तराष्ट्रिय सम्भावना र लगानीका हिसाबले सम्भावना बोकेका तीन खेललाई पहिलो राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको धमलाले जनाए।
प्रतियोगिताको पुरस्कार राशी अर्थात प्राइज पुल १२ लाख रुपैयाँको रहेको छ । जम्मा प्राइज पुलको ७० प्रतिशत पुरस्कार पब्जी मोबाइलमा २० प्रतिशत पुरस्कार एमएलवीवी र १० प्रतिशत पुरस्कार ई फुटवलमा बाँडिने छ। तीन वटै खेल विधाका विजेताले आसन्न एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने धमलाले जानकारी दिए।
प्रतियोगितामा प्रदेश र क्लब गरि तीन सय बढी टिमका १५ सय बढी खेलाडीले छनोट चरणबाट भाग लिने अनुमान गरिएको छ। टिम दर्ता शुक्रबारदेखि असार १ गतेसम्म खुल्ला रहनेछ। ईशानको वेव साईटमा गएर टिम दर्ता गर्न सकिनेछ र केन्द्रीय कार्यालयमा समेत सम्पर्क गरेर टिम दर्ताको सुविधा उपलब्ध गराइएको छ। अनलाइन छनोट असार ४ देखि १० गतेसम्म र ल्यान (भौतिक) ईभेन्ट असार १४ र १५ गते सुर्खेतमा सञ्चालन हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागीता जनाउन पाउने अध्यक्ष धमलाले जानकारी दिए।