हेटौँडा । फुटबल खेलका रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ ।
बुधबार राती हृदयघातका कारण ४० बर्षीय श्रेष्ठको निधन भएको अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
छाती दुखेको भनी बुधबार दिउँसो स्वास्थ्य परीक्षण समेत गराएका श्रेष्ठ राती भने दुखाई अझ तीव्र भएपछि अस्पताल लिएर जाने क्रममा बाटोमै निधन भएको लामाले बताए ।
मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष समेत रहेका हेटौँडा–१३ निवासी श्रेष्ठको अन्त्येष्टी बिहिबार हेटौँडा–९ त्रिवेणीधाममा गरिएको छ ।
रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले बिहिबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ ।
श्रेष्ठको श्रीमति र एक छोरा छन् ।