काठमाडौं । पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ को दोस्रो हप्ताको समाप्तमा मंगोलियन टिम फोर मिरेकल भाईबस् समग्रमा ४०२ अंकसहित शीर्षस्थानमा उक्लिएको छ।
कजाखस्तान दुई टोली म्याड बुल्स र रुक इस्पोर्ट्स समान ३७६ अंकसहित शीर्ष तीनमा छन्। कपनमा भइरहेको २ लाख अमेरिकी डलर पुरस्कारको सुपर लिगमा नेपालका दुई टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। डीआरएस (द रियल सोल्जर) ३५९ अंकसहित चौथो स्थानमा छन् भने अर्को स्वदेशी टोली होरा इस्पोर्ट्स ३३४ अंक जोड्दै छैटौं स्थानमा रहेको छ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२३ विजेता मंगोलियाका आईएचसी इस्पोर्ट्स ३३१ अंक बनाएर सातौं स्थानमा रहेको छ। नेपालको डीआरएस पनि पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ को उपविजेता भएको थियो।
कपनमा आयोजित सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङमा राउन्ड रोबिन लिगको अधारमा प्रतिस्पर्धा चलिरहेको छ। तीन सातको प्रतियोगितामा प्रतिहप्ता ३० खेल हुने गरेको छ। क्राफ्टन, लेबल इन्फिनिटी र नोडविन गेमिङको आयोजनामा जेठ ९ गते सुरु भएको प्रतियोगिता असार १ गतेसम्म चल्ने छ।
प्रतियोगितामा नेपालका दुईसहित ७ देशका २० टोलीको सहभागिता रहेको छ। विदेशी टिममा पाकिस्तान, बंगलादेश, मंगोलिया, कजाखस्तान, युक्रेन र उज्बेकिस्तान छन्। सहभागी २० टिममध्ये लिग चरणका शीर्ष १६ टिम फाइनल चरणको लागि छनोट हुनेछन्। यस प्रतियोगिताको शीर्ष ४ टिमले जुलाईमा रियाद, साउदी अरेबियामा हुने पब्जी मोबाइल वर्ल्डकप २०२४ को समूह चरणमा सिधै स्थान पाउनेछन्। यहाँ पाँचौ हुने टोलीले भने पब्जी मोबाइल वल्र्डकप २०२४ को सर्भाइवल चरण खेल्नेछ।
पहिलो हप्ता
पहिलो हप्ता डीआएस २०४ अंक सहित शीर्षस्थान रह्यो। मंगोलियन टोली प्याल्कन फोर्स २०२ अंकसहित दोस्रो र फोर मिरेकल भाइब्स् १९८ अंकसहित तेस्रोमा रहेको थियो। रुक ईस्पोर्ट्सले १८९, आईएचसी ईस्पोर्ट्सले १८३ र स्वदेशी टिम होरा ईस्पोर्ट्सले १४० अंक हात पार्दै शीर्ष आठमा रहेको थियो।
दोस्रो हप्ता
दोस्रो हप्ताको अन्त्यमा म्याड बुल्स २१४ अंकसहित पहिलो भएको थियो। फोर मिरेकल भाइब्स् २०४ अंकसहित दोस्रो र उत्कृष्ट पुनरागमन गरेको होरा ईस्पोर्ट्स १९४ अंक बटुल्दै तेस्रो भएको थियो। रुक ईस्पोर्ट्स सन्तुलित खेल खेल्दै १८७ अंकसहित चौथोमा रह्यो। उत्कृष्ट प्रदर्शनलाई कायम राख्न नसकेको डीआरएस १५५ अंकमा छैटौंमा रह्यो। प्रतियोगितामा तेस्रो हप्ताको प्रतिस्पर्धा बुधबार सुरु हुँदैछ।