काठमाडौं । पुरुषोत्तम सिलवाल पाँचौं चरणमा आएर पहिलो हार बेहोरेपनि त्यसपछि क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई पराजित गर्दै सोमबार नेसनल चेस च्याम्पियनसिप २०२४ को शीर्षस्थानमा कायमै रहेका छन् ।
करिअरकै उत्कृष्ट लयमा रहेका २११२ रेटिङका पुरुषोत्तमले छैटौं चरणको समाप्तिमा ५ जितसहित ५ अंक बनाएका छन् । लाजिम्पाटस्थित ले हिमालय होटलमा भइरहेको प्रतियोगितामा उनले छैटौं चरणमा सेतो गोटीबाट खेल्दै २०३८ रेटिङका मिलनविरुद्ध एक अंक जोडेका थिए ।
१६ वर्षीया पुरुषोत्तमले मंगलबार सुशील चौधरी र प्रकाशचन्द्र नेपालविरुद्ध खेल्नेछन् । उनलाई पाँचौं चरणमा पराजित गरेका राजन सेढाईं ४ अंकसहित दोस्रोमा छन् । राजनलाई छैटौं चरणमा डिफेन्डिङ च्याम्पियन रुपेश जैयसवालले पराजित गरेपछि पुरुषोत्तमले एकल अग्रता हासिल गरेका हुन् ।
चार खेलसम्म ०.५ अंकमात्रै जोडेका रुपेशले सोमबार दुवै खेल जिते । २०५५ रेटिङका फिडे मास्टर (एफएम) रुपेशले राजनलाई पराजित गर्नुअघि पूर्वविजेता केशव श्रेष्ठको चुनौती पन्छाउँदै १ अंक बटुलेका थिए ।
नेपाल चेस महासंघ र लुम्बिनी इभेन्ट्स एन्ड म्यानेजमेन्टद्वारा आयोजित च्याम्पियनसिपमा प्रकाशचन्द्र नेपालले पनि ४ अंक बनाएका छन् । उनले सोमबार सुश्रुत दाहालसँग बराबरी खेलेपछि राजीव कार्कीलाई पराजित गरे ।
छैटौं चरणको समाप्तिमा सुश्रुत र क्षितीज भण्डारीले समान ३.५, सुशील चौधरीले ३, रुपेश, प्रेमकृष्ण महर्जन, राजीवले समान २.५, मिलन र सुरोज महर्जनले २–२ र केशवले १.५ अंक जोडेका छन् ।
शान्ति अगाडि
महिलातर्फ शान्ति धिमाल ५.५ अंकसहित शीर्षस्थनमा छिन् । १६७२ रेटिङका उनले सोमबार विनिता कपालीसँग अंक बाँड्नुअघि प्राश्ना किबानायोलाई पराजित गरेकी थिइन् ।
हंगेरीमा सेप्टेम्बर, २०२४ मा हुने ४५ औं चेस ओलम्पियाडमा नेपाली टिमको छनोटको रुपमा पनि रहेको प्रतियोगितामा पूजा भण्डारी र पूर्वविजेता सिन्दिरा जोशीले ५–५ अंक बटुल्दै शान्तिलाई पछ्याइरहेका छन् । रिया श्रेष्ठ र कृतिसरा अधिकारीले ४–४ अंक जोडेका छन् ।