काठमाडौं। जेसिआई पाटनको आयोजनामा भएको प्रथम मेयर कप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सुदीप तामाङले जितेका छन्।
पाटन हाईस्कूलमा भएको उक्त खेलमा सुदीपले सर्वाधिक आठ अंक जोड्दै पहिलो स्थान हासिल गरेका हुन्। धिरेन राईले पनि समान ८ अंक जोडे। तर, उनी टाई ब्रेकरमा पछाडि परेपछि दोस्रो स्थानमा रहे। पूर्वनेपाल च्याम्पियन बद्रीलाल नेपाली ७ अंकसहित तेस्रो भए।
कुल ५१ हजार रुपैयाँ पुरस्कारको एक दिने प्रतियोगितामा सुदीपले १० हजार, धिरेनले ७ हजार र बद्रीलालले ५ हजार रुपैयाँ प्राप्त गरे।
शीर्ष दस तथा विभिन्न क्याटगोरीका विजेताहरूलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, बागमती प्रदेश सभाका सदस्य दीपेन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गरे। स्विस लिगको आधारमा नौ राउन्डमा सञ्चालित प्रतियोगितामा १ सय १५ खेलाडी सहभागी थिए।