काठमाडौं। नवौं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवालले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राउन्ड रोविन प्रतियोगितामा उनले उत्कृष्ट लयलाई निरन्तरता दिँदै तीन चरणको सबै खेलमा जित दर्ता गरेका हुन्।
पुरुषोत्तमले दोलखाका राजीव कार्की, काभ्रेका पूर्वनेपाल च्याम्पियन क्षितिज भण्डारी र काठमाडौंका अर्का पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठमाथि जित हासिल गरेका छन्।
सिलवालले २११२ रेटिङ्गबाट खेल शुरु गरेका थिए भने हालसम्म ३६ रेटिङ वृद्धि गर्दै आफ्नो फिडे रेटिङ २१४९ पुर्याएका छन्। अपराजित उनी ३ अंकसहित एकल अग्रता बनाउँदै हंगेरीमा हुने ४५औं ओलम्पियाडको लक्ष्यतर्फ छन्।
यसैगरी, अर्का युवा खेलाडी एआईएम सुश्रुत दfहाल पनि दुई जित र एक खेल बराबर खेल्दै दोस्रो स्थानमा रहन सफल बनेका छन्। उनले पहिलो चरणमा नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसँग बराबरी गरेका थिए। २.५ अंक जोडेका दाहालले दोस्रो चरणमा झापाका राजन सुवेदी र तेस्रो चरणमा सिएम मिलन लामामाथि जित हात पारेका छन्।
११ चरणको राउन्ड रोविन खेलबाट नयाँ नेपाल च्याम्पियन छानिने दौडमा मिलन लामा, क्षितिज भण्डारी , राजन सुवेदी र प्रकाशचन्द्र नेपाल दुई २ अंकका साथ संयुक्त तेस्रो स्थानमा छन्। काठमाडौंका प्रेमकृष्ण महर्जन, ललितपुरका सुरोज महर्जन, धनुषाका सुशील चौधरी र राजीव कार्कीले एक १ अंक बनाएका छन्।
महिला तर्फ ४ खेलाडीको अग्रता
पूर्वनेपाल च्याम्पियन सिन्दिरा जोशी, काठमाडौंकी रिया श्रेष्ठ, मोरङकी शान्ति धिमाल र कास्कीकी पूजा भण्डारी ३ अंकका साथ संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्।
सिन्दिराले पर्साका सुशीला गुरुङ र भक्तपुरका सविना गुज:लाई निराश पारेका थिए भने रियाले भक्तपुरका प्रश्ना किबाजायो र काठमाडौंका विनीता कपालीलाई पन्छाए। अर्कोतर्फ शान्ति धिमालले श्रेषा दुवाल र सुशीलालाई हराइन् भने प्रश्ना र विनीतामाथि जित दर्ता गर्न सफल बनिन्।
झापाकी पुनम प्रसाईँ, झापाकै कृतिसरा अधिकारी दुई २ अंकमा रही संयुक्त दोस्रो स्थानमा छन्। यस्तै, विनीता कपाली र सुशीला गुरुङको एक १ अंक रहेको छ।