काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेशनल चेस च्याम्पियनसिप आज (शनिबार) बाट सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन शनिबार सम्पन्न खुल्लातर्फको खेलमा नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी, युथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सिएम मिलन लामा, धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदी जित निकाल्दै समान १-१ अंक अंक जोड्न सफल भएका छन्।
क्षितिजले निकै नै प्रतिस्पर्धामा बनेको खेलमा पूर्व नेपाल च्याम्पियन काठमाडौंका केशव श्रेष्ठलाई पराजित गर्दा पुरुषोत्तमले दोलखाका राजीव कार्की, मिलनले काठमाडौंका प्रेम महर्जन, सुशीलले झापाका प्रकाश नेपाल र राजनले ललितपुरका सुरोज महर्जनलाई निराश पार्दै अंक जोडे । त्यस्तै वर्तमान नेपाल च्याम्पियन फिडे मास्टर रूपेश जैशवाल उत्कृष्ट लयमा रहेका सुश्रुत दाहालसँग बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भए।
राउन्ड रोविन प्रणालीमार्फत सुरु भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङकी शान्ति धिमाल, कास्कीकी पूजा भण्डारी, काठमाडौंकी विनीता कपाली, रिया श्रेष्ठ र पर्साकी सुशीला गुरुङ जित निकाल्न सफल भएकी छन् ।
सिन्दिराले भक्तपुरकी श्रेया दुवाललाई पराजित गर्दा शान्तिले नेशनल बी छनौटमा उत्कृष्ट प्रदर्शन गरी प्रथम स्थानमा रहेर छनौट हुँदै नेशनल चेस च्याम्पियनसिप खेलिरहेकी झापाकी कृतिसारा अधिकारीलाई हराइन् भने विनीताले अंशु प्रजापतिमाथि जित हात पारिन् । त्यसैगरी रियाले झापाकी पुनम प्रसाईँ र सुशीलाले भक्तपुरकी सविना गुजलाई पराजित गरिन्।
जेठ २४ गते अर्थात् ६ दिनसम्म चल्ने प्रतियोगितामा नेशनल बी बाट छनोट भएका खुल्ला र महिलातर्फ समान नवौ जना, २३ औं नेशनल च्याम्पियनसिपका विजेता र उपविजेता महिला तथा पुरुषतर्फका समान तीन गरी २४ जना खेलाडी सहभागी छन् ।
यस च्याम्पियनसिपबाट खुल्लातर्फ शीर्ष तीन जना र महिलातर्फ उत्कृष्ट चार गरी ७ जना खेलाडी हंगेरीको बुडापेस्टमा आगामी सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औं चेस ओलम्पियाडका लागि छनोट हुनेछन् ।