काठमाडौं। नेशनल चेस च्याम्पियनसिप तेस्रो सातादेखि हुने भएको छ । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने प्रतियोगिता जेठ १९ देखि २४ गतेसम्म सञ्चालन हुने भएको हो।
काठमाडौंको लाजिम्पाटस्थित होटल हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिपमा २४औं खुल्ला र नवौं महिलातर्फ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको दुवै विधामा १२÷१२ जना खेलाडी सहभागी हुनेछन् ।
यस प्रतियोगिताका लागि केही साताअघि मात्र सम्पन्न भएको नेशनल बी च्याम्पियनसिपबाट पुरुष र महिलातर्फ समान ९/९ जना खेलाडी छनोट भएका थिए । जसमा पुरुषतर्फ पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ (क्यान्डिडेट मास्टर), ललितपुरका सुरज महर्जन, झापाका प्रकाशचन्द्र नेपाल, काठमाडौंका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी, दोलखाका राजीव कार्की र काठमाडौंका श्रुसुरत दाहाल छन् ।
त्यस्तै महिलातर्फ झापाकी कृतिसारा अधिकारी, काठमाडौंकी सिन्दिरा जोशी, रिया श्रेष्ठ, कास्कीकी पूजा भण्डारी, काठमाडौंकी विनीता कपाली, भक्तपुरकी अंशुदिल प्रजापति, झापाकी पुनम प्रसाईं, भक्तपुरकी श्रेया दुवाल र सविना गुज रहेका छन् ।
त्यसैगरी २३ औं राष्ट्रिय प्रतियोगिताका पदक विजेता रुपेश जैशवाल, उप विजेता क्षितिज भण्डारी र सुरवीर लामा तथा सातौं राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत महिलातर्फका विजेता फिडेमास्टर सुजना लोहनी, उप विजेता सुशीला गुरुङ र शान्ति धिमालले पनि यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका चर्चित खेलाडी सुरवीर लामा थाइल्यान्ड र सुजना लोहनी हाल अस्ट्रेलियामा रहेको कारण उनीहरूको स्थानमा वैकल्पिक खेलाडीको रूपमा खुल्लातर्फ सुशील चौधरी र प्रसन्न किवनायोले खेल्ने आयोजकले जनाएको छ ।
यस प्रतियोगिताको विजेताले आगामी फिडे जोन ३.२ चेस च्याम्पियनसिप तथा कन्टिनेन्टलमा सहभागिता जनाउन पाउने छन् । त्यसैगरी यसै प्रतियोगिताबाट २०२४ मा हंगेरीको बुढा पेस्टमा हुने ४५ औं चेस ओलम्पियाडको लागि पुरुषतर्फ तीन र महिलातर्फ चार गरी नेपालको तर्फबाट उत्कृष्ट सात जना खेलाडी छनोट हुनेछन् ।
नेपाल बुद्धिचाल महासंघका अनुसार चेस ओलम्पियाडमा नेपालको तर्फबाट महिला र पुरुष दुवैतर्फ समान ५÷५ जना खेलाडी सहभागी हुनेछन् । जसमा उच्च रेटेड खेलाडी खुल्लामा विवेक लामा र महिलामा सुजना लोहनी तथा फिडे मास्टर रुपेश जैशवाल २३ औं राष्ट्रिय प्रतियोगिताको विजेताका रूपमा छनोट भइसकेका छन् ।
प्रत्येक वर्ष आयोजना हुने नेशनल च्याम्पियनसिपमा शीर्ष तीनमा रहने खेलाडीले आगामी वर्ष हुने २५ औं खुल्ला तथा १०औं महिला राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले नेशनल बी मा प्रतिस्पर्धा गर्न पाउने छन् । यस च्याम्पियनसिपको अनुमानित खर्च १३ लाख ५० हजार रहेको छ ।