काठमाडौँ। ललितपुर महानगरपालिकाको च्यासलस्थित एन्फा फुटबल मैदानमा भवन तथा प्यारापिट निर्माण गर्दा अनियमितता भएको पाइएको छ।
महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले भौतिक पूर्वाधार निर्माण गर्दा ५४ लाख ७७ हजार रुपैयाँ अनियमितता भएको पुष्टि गरेको हो।
२०७७ जेठ २१ गतेभित्र सम्पन्न गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २०७४ असार २२ गते डाँफे प्रेरणा प्रतिष्ठा जेभीसँग सम्झौता गरेको थियो । तर, डाँफे जेभीले ६ महिनाका दरले ५ पल्ट म्याद थपेर २०७९ भदौ ५ गते उक्त मैदान राखेपलाई हस्तान्तरण गरेको थियो।
डाँफे जेभीले शुरूमा १० हजार क्षमताको प्यारापिट रहने गरी ३३ करोड ५० लाख ९४ हजार रुपैयाँ लागतमा सम्झौता गरेको थियो । तर, मनोहरा कोरिडोरको मापदण्डअनुसार खोलाबाट कम्तीमा २० मिटर दूरीमा संरचना बनाउन नपाइने भएपछि रंगशालाको दर्शक क्षमतासँगै लागत मूल्य पनि घटेको थियो।
‘उक्त निर्माण कार्यको पाँचौँ पटकसम्म भेरिएसन गरी ३१ करोड १० लाख ५५ हजारको सम्पन्न गरेकोमा ३१ करोड ६५ लाख ३२ हजार भुक्तानी दिएकाले बढी भुक्तानी भएको ५४ लाख ७७ हजार असुल हुनुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ।