काठमाडौँ। नेपाल पौडी संघको गत महिना भएको निर्वाचनलाई विश्व पौडीको सर्वोच्च संस्था वर्ल्ड अक्वाटिक्सले अस्वीकार गर्दै अशोकरत्न बज्राचार्यको पुरानै नेतृत्वलाई कायम राखेको छ।
नेपाल पौडी संघ चार दशकसम्म एकलौटी चलाएका बज्राचार्यलाई अध्यक्षकै हैसियतमा पत्राचार गर्दै वर्ल्ड अक्वाटिक्सले वैशाख ८ गते भएको निर्वाचनलाई अस्वीकार गर्दै पुरानै कार्यसमिति कायम रहेको जनाएको हो।
अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) बाट वर्ल्ड अक्वटिक्समा परिणत भएको विश्व पौडीको सर्वोच्च संस्थाले आफ्नो सदस्यले ६० दिनअघि निर्वाचन गर्ने जानकारी गराइसक्नुपर्ने नियम पालना नगरेको भन्दै नेपाल पौडी संघको निर्वाचनलाई अस्वीकार गरिदिएको वर्ल्ड अक्वाटिक्सले जनाएको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्षसमेत रहेका बज्राचार्यले संघको नेतृत्वमा निरन्तर रहने प्रयास गरे पनि अन्त्यमा उम्मेदवारी दिएका थिएनन्। त्यसपछि जगतमान श्रेष्ठ अध्यक्षमा निर्विरोध भएका थिए। अघिल्लो कार्यसमितिमा महासचिव रहेका श्रेष्ठको प्यानल नै निर्वाचित भएको थियो। तर, फेरि उनलाई वर्ल्ड अक्वाटिक्सको पत्रले महासचिव कायम गरेको छ।
वर्ल्ड अक्वाटिक्सले आफ्नो वेबसाइटमा पनि अध्यक्षमा बज्राचार्य र महासचिवमा जगतमान श्रेष्ठको नाम यथावत् राखेको छ।
पाँचौँ राष्ट्रिय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, तीन उपाध्यक्षमा जुनाकुमारी कडायत, चित्रराज भट्ट, उमेश प्रधान, महासचिवमा पूर्वप्रशिक्षक ईश्वर कार्की, सचिवमा रञ्जन भट्टराई र गंगालाल गोले, कोषाध्यक्षमा दिलीप वैद्य र सह–कोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ चुनिएका थिए।